विराटनगर । उद्यम विकास शाखा दुहबी नगरपालिकाको सहकार्य तथा समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सुनसरीको आयोजनामा सञ्चालित ४५ दिने फेसन डिजाइन तालिम (लेभल–२) आज सम्पन्न भएको छ।
तालिम समापन समारोहका प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छादारले तालिममा सहभागी २१ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। उक्त तालिमको प्राविधिक तथा आर्थिक सहयोग घरेलु तथा साना उद्योग कार्यालय, इटहरीले उपलब्ध गराएको हो।
कार्यक्रममा नगर प्रमुख गच्छादारले सहभागी प्रशिक्षार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसारको सीप सिकेर त्यसलाई उद्यमशीलतासँग जोड्दै समाज रूपान्तरण र आर्थिक क्रान्तिका लागि अग्रसर हुन आग्रह गर्नुभयो। फेसन डिजाइनिङ पेशा केवल ग्ल्यामरस भएकै कारण युवायुवतीहरू आकर्षित भएका नभई, यसले तालिमपश्चात् आत्मनिर्भर बन्ने स्पष्ट मार्ग खोल्ने भएकाले यसको महत्व झन् बढेको उहाँको भनाइ थियो।
उहाँले फेसन डिजाइनिङ सीप नेपालमा औपचारिक शैक्षिक योग्यतासँग तुलना नगरिए पनि विदेशका विभिन्न फेसन डिजाइनिङलाई मान्यता दिने गरेको छ । यस सीपबाट दक्ष बनेका युवायुवतीहरू आत्मनिर्भर मात्र नभई राज्यलाई कर तिर्ने असल करदाता तथा जिम्मेवार नागरिक बन्ने अवसर पाउने उहाँको धारणा थियो।
नगर प्रमुख गच्छादारले आफू नगर प्रमुख बनेयता आय–आर्जनमूलक सीप तथा तालिम, बीउपुँजी, सहुलियतपूर्ण बैंकिङ कर्जा, आवश्यक उपकरण तथा छात्रवृत्ति लगायतका कार्यक्रममार्फत हजारौँ युवायुवतीहरूलाई आत्मनिर्भर बनाउने अभियान निरन्तर अघि बढाइरहेको बताउनुभयो ।
“आज तपाईंहरू तालिमपछि रोजगारमा आबद्ध हुनुभएको छ, स्वरोजगार बन्नुभएको छ, रोजगारदाता बनेर राम्रो आम्दानी गर्नुभएको छ। तपाईंहरूभन्दा बढी म स्वयं खुसी र सन्तुष्ट छु, किनकि मेरो सपना तपाईंहरूको सुखी जीवनशैली र बेरोजगारमुक्त दुहबी निर्माण गर्नु नै थियो,” उहाँले भन्नुभयो। हाल दुहबीका फेसन डिजाइनरहरूको उत्पादन अन्तर्राष्ट्रिय बजारबाट समेत माग आउन थालेको र प्रदेश सरकारबाट सम्मान तथा नगद पुरस्कार प्राप्त गर्न थालेको उल्लेख गर्दै यसलाई ठूलो सफलता भएको बताउनुभयो।
कार्यक्रममा उहाँले दक्ष फेसन डिजाइनरहरूका लागि एक्सपोर्ट हाउस, गार्मेन्ट स्टोर, टेक्सटाइल उद्योग, लेदर कम्पनी, कस्टम डिजाइनिङ, पर्सनल स्टाइलिङ, बुटिक, फेसन शो, ज्वेलरी उद्योग लगायतका विभिन्न क्षेत्रमा प्रशस्त रोजगारीका अवसर उपलब्ध रहेको जानकारी गराउनुभयो। साथै, बुटिक तथा फेसन स्टोर सञ्चालन गरी स्वरोजगार बन्न सकिने सम्भावनाबारे पनि उहाँले प्रकाश पार्नुभयो।
“एकैचोटि विकासमा कायापलट सम्भव हुँदैन, तर अहिले हुँदै गएको प्रगति क्रमशः अझै अघि बढ्दै जानेछ,” उहाँले विश्वास व्यक्त गर्नुभयो। नागरिक समृद्ध नभएसम्म नगर समृद्ध हुन नसक्ने उल्लेख गर्दै नागरिकको आम्दानी बढेपछि उत्पादन बिक्री भई राज्यमा कर जाने र त्यही करबाट विकास सम्भव हुने धारणा राख्दै सहभागी महिलाहरूलाई थप प्रोत्साहन गर्नुभयो।
कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजेन्द्र पाण्डेले गर्नुभएको थियो।
फेसन डिजाइन तालिमको प्रशिक्षक आशा चौधरी रहेको थियोे ।

