विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख वेद नारायण गच्छादारको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख मेनुका खतीवडा, बाह्रै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, विभिन्न शाखाका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगरसभामा सम्बोधन गर्दै नगरप्रमुख गच्छादारले जेन–जी आन्दोलनका कारण दुहबी नगरपालिकाको प्रशासनिक भवनमा पुगेको क्षतिले नगरपालिकाले ठूलो नोक्सानी व्यहोर्नु परेको बताए। देशभर नै अकल्पनीय क्षति पुगेको अवस्थामा नवगठित सरकारले पुनर्निर्माण तथा आगामी निर्वाचनलाई प्राथमिकता दिँदै बजेट कटौती गरेकाले अपेक्षित विकास–निर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भएको उनको भनाइ थियो।
चालु आर्थिक वर्षमा अपेक्षित राजस्व संकलन हुन नसक्दा नगरपालिका थप संकटमा पर्न सक्ने भन्दै उनले आन्तरिक स्रोत अभिवृद्धिका लागि सम्पूर्ण कार्यपालिका सदस्य र कर्मचारीहरू एकमत भएर अघि बढ्न आग्रह गरे। चालु आर्थिक वर्षको लक्षित बजेटअनुसार राजस्व संकलन लक्ष्य ३२ करोड ४ लाख रुपैयाँ रहेकोमा हालसम्म ३ करोड ५९ लाख २२ हजार ३१८ रुपैयाँ मात्र संकलन भएको उनले जानकारी दिए।
प्रदेश सरकारबाट राजस्व बाँडफाँडअन्तर्गत प्राप्त हुनुपर्ने १ करोड ४ लाख रुपैयाँमध्ये हालसम्म ३० लाख ९७ हजार रुपैयाँ मात्रै आएको र संघीय सरकारबाट आउनुपर्ने ११ करोड ७२ लाख रुपैयाँमध्ये ५ करोड १ लाख १४ हजार रुपैयाँ मात्र प्राप्त भएको नगरप्रमुखले बताए। लक्षअनुसार स्थानीय, प्रदेश तथा संघीय राजस्व बाँडफाँड र वित्तीय समानीकरणको बजेट समयमै प्राप्त नहुँदा नगरपालिकामार्फत सञ्चालन हुने विकास–निर्माणका कार्य प्रभावित हुने सम्भावना रहेकाले आन्तरिक राजस्व संकलनमा तीव्रता दिनुपर्ने उनले जोड दिए।
नगरप्रमुख गच्छादारले प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ का विभिन्न प्रस्तावहरू नगरसभाले सर्वसम्मत रूपमा पारित गरेको छ। जनताको न्यूनतम आवश्यकतालाई मध्यनजर गर्दै रोजगार र सिपमूलक कार्यक्रमहरू विस्तार गरिने तथा भैपरि आउने पूँजीगत शीर्षकमा कटौती गरिएको बजेट पुनः थप गरिएको उनले बताए।
नगर अस्पताललाई जनमुखी र गुणस्तरीय सेवामुखी बनाउने लक्ष्यका साथ कार्यरत कर्मचारी तथा चिकित्सकहरूलाई न्यायोचित र जिम्मेवार सेवा प्रवाह गर्न निर्देशन दिँदै सेवाग्राहीलाई हेप्ने, अवमूल्यन गर्ने वा झन्झट दिने कार्यमा संलग्नलाई कुनै पनि हालतमा क्षम्य नदिने चेतावनी उनले दिए।
नगरसभामा स्वागत मन्तव्य दिँदै उपप्रमुख मेनुका खतीवडाले आर्थिक वर्ष २०८२/८३ का कार्यप्रगति तथा कार्यविवरण प्रस्तुत गरिन्। न्यायिक समितिमा आउने मुद्दाको संख्या बढ्दो रहेकाले न्यायिक कार्यसम्पादनमा कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य अझ प्रभावकारी र प्रगतिशील हुनुपर्नेमा उनले जोड दिइन्।
१८औँ नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गरेका थिए।
