२१ जेठ २०८३, बिहिबार

नेपाली काँग्रेसले सुनसरीका ४ क्षेत्रका उम्मेदवार टुंग्यायो

Logo
डुमरलाल मेहता मंगलबार, माघ ०७, २०८२

विराटनगर । नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ।
काँग्रेसले सुनसरी क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ। तामाङ काँग्रेस नेता डा. शेखर कोइराला निकट मानिँदै आएका थिए भने विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रीय कमिटीबाट उनको नाम सिफारिस नभए पनि केन्द्रीय तहबाट टिकट पाएका हुन्।
सुनसरी क्षेत्र नम्बर २ मा काँग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ। २०७४ सालमा कोशी प्रदेश संसदीय दलको नेता रहेका कोइराला २०७९ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर २(२) बाट पराजित भएका थिए। शेखर कोइराला समूहका कोइराला काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य समेत हुन्।
यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसले दुहबी नगरपालिकाका प्रमुख वेदनारायण (बेद) गच्छदारलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रबाट पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सातौँ पटक उम्मेदवार बन्न इच्छा व्यक्त गरे पनि काँग्रेसले बेद गच्छदारलाई टिकट दिएको हो। बेद गच्छदार दुहबी नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित नगरप्रमुख हुन्। उक्त क्षेत्रमा नेकपा एमालेले पुनः भगवती चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरीले अघिल्लो निर्वाचनमा विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन्।
सुनसरी क्षेत्र नम्बर ४ मा काँग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ। कार्की सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा विजयी भएका थिए। उनी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।
नेपाली काँग्रेसले उम्मेदवार टुंग्याएसँगै सुनसरीमा चुनावी माहोल थप तातिने देखिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300