२१ जेठ २०८३, बिहिबार

आगलागीपछि वैकल्पिक व्यवस्थाः वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन हुने

Logo
आजको अपडेट सोमबार, माघ २०, २०८२

विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालन सुनिश्चित गर्न विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता सम्पन्न भएको छ । आइतबार विराटनगर महानगरपालिकाको विशेष समारोहका बीच दुवै पक्षबीच उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो ।
महानगर प्रमुख नागेश कोइराला तथा उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा सम्पन्न समारोहमा विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र कोशी प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव श्री सुदर्शन खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताका साक्षीका रूपमा महानगरपालिकाको राजस्व महाशाखा प्रमुख श्री सरोज गौतम र प्रदेशसभा सचिवालयका उपसचिव श्री अर्जुन घिमिरे रहनुभएको थियो ।
सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्मको अवधिका लागि छ महिनासम्म विराटनगरस्थित वीरेन्द्र सभागृह कोशी प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ । सो अवधिमा प्रदेशसभा सचिवालयले विराटनगर महानगरपालिकालाई मासिक आठ लाख रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरिएको छ । भाडा रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ भने प्रचलित कानुनअनुसार लाग्ने सम्पूर्ण कर प्रदेशसभा सचिवालयले नै व्यहोर्ने उल्लेख गरिएको छ ।
सम्झौता अवधि समाप्त हुनु एक महिना अगावै दुवै पक्षको आपसी सहमतिमा करार अवधि थप गर्न सकिने प्रावधान राखिएको छ । प्रदेशसभा सचिवालयले सम्झौता अवधि पूरा हुनुअघि नै करार अन्त्य गर्न चाहेको खण्डमा एक महिना अगावै सूचना दिनुपर्नेछ भने विराटनगर महानगरपालिकाले समयअगावै सम्झौता अन्त्य गर्नुपर्ने अवस्थामा दुई महिना अगावै जानकारी दिनुपर्ने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिनुभयो ।
प्रदेशसभा सञ्चालनका लागि महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह उपलब्ध गराइएकोप्रति प्रदेशसभा सचिव खड्काले विराटनगर महानगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’ का क्रममा कोशी प्रदेशसभा भवनमा भएको आगजनीका कारण उक्त भवन पूर्ण रूपमा ध्वस्त भएपछि प्रदेशसभा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको थियो । वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनबाट प्रदेशसभा सञ्चालन गर्ने तयारी गरिए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण असहज भएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300