विराटनगर । धनगंगा स्मृति प्रतिष्ठानले श्री रामसीता माध्यमिक विद्यालयबाट कक्षा १० (SEE) मा उत्कृष्ट ग्रेड हासिल गरी हाल सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत ६ जना उत्कृष्ट विद्यार्थीलाई धनगंगा छात्रवृत्ति पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ।
सम्मानित हुने विद्यार्थीहरूमा रोशनकुमार शाह, सन्दीप कुमार चौधरी, गरिमा मण्डल, सुरजकुमार चौधरी, लक्ष्मी यादव र रञ्जना कुमारी राय रहेका छन्। उनीहरूलाई प्रतिष्ठानले जनही ८ हजार रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरेको हो।
शैक्षिक उपलब्धि, लगनशीलता तथा आर्थिक अवस्थालाई आधार मानी विद्यार्थीहरूको छनोट गरिएको प्रतिष्ठानले जनाएको छ। शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको धनगंगा स्मृति प्रतिष्ठान सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।
कार्यक्रमका अवसरमा श्री रामसीता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज मेहताले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरी शिक्षा क्षेत्रमा योगदान पुर्याएकोमा धनगंगा स्मृति प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अझ राम्रो नतिजा ल्याउन प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो।
