विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। शेखर कोइरालाले विकासका अधुरा कामहरू सम्पन्न गर्न नेपाली कांग्रेसलाई मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। विराटनगर महानगरपालिका–४ राजबंशी चौकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा सुरु गरिएका विभिन्न विकास आयोजनाहरूलाई पूर्णता दिन आफ्नो नेतृत्व आवश्यक रहेको बताए।
उनले सम्बोधनका क्रममा भने, “हामीले धेरै विकास निर्माणका कामहरू अघि बढाएका छौं। सडक विस्तार, ढल निकास, खानेपानी, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थुप्रै योजनाहरू सञ्चालनमा छन्। तर अझै केही काम अधुरा छन्। ती अधुरा कामहरू पूरा गर्न नेपाली कांग्रेसको जित अपरिहार्य छ। त्यसैले म सम्पूर्ण मतदातालाई चुनाव चिह्न ‘रुख’ मा मतदान गर्न आग्रह गर्दछु।”
डा। कोइरालाले विकाससँगै सुशासनलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले भ्रष्टाचार मुलुकको मुख्य समस्यामध्ये एक रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण बिना दिगो विकास सम्भव नभएको बताए। “यदि सुशासन भएन भने विकास हुँदैन। पारदर्शिता, जवाफदेहिता र इमानदारीको अभ्यास भए मात्र जनताले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्छन्,” उनले भने, “त्यसैले विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउनुपर्छ।”
उनले मोरङ क्षेत्र नं। ६ मा विगतमा सम्पन्न भएका विकास निर्माणका कार्यहरूको पनि स्मरण गराए। सडक कालोपत्रे, सामुदायिक भवन निर्माण, विद्यालय स्तरोन्नति, स्वास्थ्य चौकी विस्तार तथा विभिन्न पूर्वाधार योजनाहरू आफ्नो पहलमा अघि बढेको उनको दाबी थियो। उनले भने, “हामीले बोलेर होइन, गरेर देखाएका छौं। अब ती योजनाहरूलाई अझ व्यवस्थित र दिगो बनाउने जिम्मेवारी पनि हाम्रो नै हो।”
सभामा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार प्रमिला गच्छदार ले पनि मन्तव्य राख्दै समावेशी विकास र महिला सहभागितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्। उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षा गर्न कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्।
कार्यक्रम राजकुमार तब्दारको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा स्थानीय बासिन्दा, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा चासो राख्दै आगामी दिनमा ती क्षेत्रहरूमा थप प्रभावकारी काम हुने अपेक्षा व्यक्त गरेका थिए।
