विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं। २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। विगतमा एमालेले जित निकाल्दै आएको यस क्षेत्रमा पार्टी संगठन मजबुत रहेको दाबी गर्दै यसपटक पनि उत्साहित देखिएको छ।
कोशी प्रदेश युवा संघका संयोजकसमेत रहेका लामाको यो पहिलो संसदीय निर्वाचन हो। आफूलाई “थोरै बोल्ने, धेरै काम गर्ने” उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनी युवा र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गर्छन्।
सुजनको प्रतिबद्धता : “काम गर्छु, निराश बनाउँदिन”
उम्मेदवार सुजन लामा आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै आएको बताउँछन्। मतदाताले अवसर दिएमा क्षेत्रको विकासका एजेन्डा बोकेर प्रभावकारी लबिङ गर्ने उनको प्रतिबद्धता छ।“विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका भावना बुझेर काम गर्नेछु,” उनी भन्छन्।
अघिल्लो निर्वाचनमा तेस्रो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति यस क्षेत्रमा केही आकर्षण देखिन्छ। प्रदेश महामन्त्री लालविक्रम थापा पुनः उम्मेदवार छन्। यद्यपि पछिल्ला विवाद र कानुनी मुद्दाका कारण उनी दबाबमा रहेको विश्लेषण छ।
नेपाली काँग्रेस पनि यस क्षेत्रको परम्परागत बलियो शक्ति हो। दुई कार्यकाल जिल्ला सभापति भइसकेका एक अनुभवी नेताले उम्मेदवारी दिएका छन्। यद्यपि केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको चुनौती र रास्वपातर्फ मत सर्ने सम्भावनाले काँग्रेसलाई दबाबमा राखेको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी बाट पूर्व सांसद रामकुमारी चौधरी उम्मेदवार छिन्। अघिल्ला निर्वाचनमा उल्लेख्य मत नआए पनि यसपटक समीकरण बदलिन सक्ने दाबी नेकपा नेताहरूको छ।
इटहरीका केही वडामा सक्रिय श्रम संस्कृति पार्टीबाट चेतन राई उम्मेदवार छन् भने कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपालबाट गोपाल तामाङ उम्मेदवार बनेका छन्।
