विराटनगर । देवानगञ्ज गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाले मरिया खोलाको दुवै किनारमा तत्काल तटबन्ध (बाँध) निर्माण गर्न माग गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा निवेदन पेश गर्ने निर्णय गरेको छ ।
आज सुनसरीको देजानगञ्ज -३ स्थित कृष्ण मा. वि. को खेलमैदानमा भएको बृहत छलफल उक्त माग राखेको छ ।
स्थानीयका अनुसार हरेक वर्ष वर्षायाम सुरु भएसँगै मरिया खोलामा आउने बाढी र कटानले बस्तीमा ठूलो क्षति पुर्याउँदै आएको छ। बाढीका कारण स्थानीयहरू त्रासपूर्ण अवस्थामा जीवनयापन गर्न बाध्य भएका छन् भने घरबास, जग्गा जमिन र भविष्य नै जोखिममा परेको उनीहरूले उल्लेख गरेका छन्।
हरेक वर्ष करिब २००० विघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेर बालीनाली पूर्ण रूपमा नष्ट हुने गरेको उल्लेख छ। यसले किसानहरूको जीविकोपार्जनमा गम्भीर संकट सिर्जना गरेको छ। केही परिवार विस्थापनको जोखिममा समेत पुगेका छन्।
विशेषगरी वडा नं. २ अन्तर्गत इलाका प्रहरी कार्यालयदेखि दक्षिणपट्टि रहेको मुसहरी टोल र पश्चिमतर्फ कबिलासी क्षेत्र, साथै वडा नं. ३ मा पर्ने नहरदेखि पूर्वतर्फका बस्तीहरू, पाँचौं सिमर क्षेत्रलगायत स्थानहरू निरन्तर डुबानको उच्च जोखिममा रहेको स्थानीयले जनाएका छन्। घरभित्र पानी पस्ने, रातारात सुरक्षित स्थान खोज्नुपर्ने अवस्था, बालबालिका र वृद्धवृद्धाको जोखिमजस्ता समस्या सामान्यजस्तै बनेको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार यो समस्या वर्षौंदेखि दोहोरिँदै आएको भए पनि हालसम्म ठोस र दीर्घकालीन समाधान हुन सकेको छैन। यसले राज्यप्रति जनविश्वास समेत कमजोर बनाएको उनीहरूको भनाइ छ।
त्यसैले देवानगञ्ज गाउँपालिका वडा नं. १ देखि ३ सम्म मरिया खोलाको दुवै किनारमा बलियो तटबन्ध निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी तत्काल प्राविधिक अध्ययन, बजेट सुनिश्चितता र निर्माण प्रक्रिया अघि बढाउन स्थानीयले जोडदार माग गरेका छन्।
स्थानीयले समयमै तटबन्ध निर्माण भए हजारौं नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित हुने, कृषि उत्पादन वृद्धि हुने तथा समग्र क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै समस्या थप जटिल बन्दै गएकाले तत्काल आवश्यक पहल गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
उक्त छलफलमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, २ नं. का वडा अध्यक्ष जगनारायण मेहता लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी सहित सयौं संख्यामा स्थानीयहरुको उपस्थित रहेको थियो ।
