विराटनगर । छारे रोग (मिर्गी) मस्तिष्कको एक विशेष अवस्था हो, जसमा मस्तिष्कका कोषहरूमा हुने विद्युतीय प्रवाह वा रासायनिक प्रणालीमा अचानक गडबडी उत्पन्न हुँदा बिरामीमा काँप्ने, बेहोस हुने वा शरीरका अंगहरू अनियन्त्रित हुने जस्ता लक्षणहरू देखिन्छन्।
यसै सन्दर्भमा, विश्वभर मार्च २६ का दिन मनाइने ‘पर्पल डे’ (विश्व छारे रोग सचेतना दिवस) को अवसर पारेर विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले एक भव्य जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। नेपालमा छारे रोगका बारेमा व्याप्त सामाजिक अन्धविश्वास र भ्रमहरूलाई चिर्नु नै यस र्यालीको मुख्य उद्देश्य रहेको थियो।
र्यालीमा अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा। वीरेन्द्र कुमार विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, तथा वरिष्ठ न्युरोलोजिस्ट डा। सुनन्द पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा डाक्टरहरू, अस्पतालका कर्मचारीहरू र न्यूरो हेल्थ कलेजका विद्यार्थीहरू गरी ३०० भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले बैजनी रंगको टी–सर्ट लगाएका थिए भने हातमा छारे रोगसम्बन्धी सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
अस्पताल परिसरबाट सुरु भएको उक्त र्याली हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, गोल्छा चोक र महेन्द्र चोक हुँदै नगरका विभिन्न भागको परिक्रमा गरी पुनः अस्पतालमै पुगेर समापन गरिएको थियो।
र्यालीको समापन कार्यक्रममा बोल्दै वरिष्ठ न्युरोलोजिस्ट डा। सुनन्द पौडेलले छारे रोगबारे समाजमा अझै पनि धेरै भ्रमहरू रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “छारे रोग देवी–देउता रिसाएर वा कुनै जंगली लागेर हुने समस्या होइन। यो मस्तिष्कमा हुने केही रासायनिक परिवर्तन र असन्तुलनका कारण हुने एक प्रकारको रोग हो।”
डा। पौडेलले थप स्पष्ट पार्दै भन्नुभयो, “धेरै मानिसहरू अझै पनि मन्दिरमा बलि चढाएर वा झारफुक गरेर छारे रोग निको हुन्छ भन्ने अन्धविश्वासमा छन्, तर त्यसले रोग निको हुँदैन। छारे रोग पूर्ण रूपमा नियन्त्रणमा राख्न सकिने रोग हो। यसका लागि नियमित स्वास्थ्य परीक्षण र न्युरो विशेषज्ञको सल्लाहबमोजिम औषधि सेवन अनिवार्य छ।”
नेपालमा छारे रोगका बिरामीहरूले अझै पनि सामाजिक भेदभाव र घृणाको सामना गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न यस्ता र्याली र जनचेतनामूलक कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास अस्पताल प्रशासनले लिएको छ। विगत २५ वर्षदेखि न्युरो सेवामा उत्कृष्ट पहिचान बनाएको यस अस्पतालले आजैदेखि छारे रोगका बिरामीहरूका लागि विशेष सहुलियतसहितको ‘स्वास्थ्य सप्ताह’ समेत सुरु गरेको जनाएको छ।

