काठमाडौं, १७ चैत । पहुँच र शक्ति प्रयोग गरी सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बस्दै आएका विशेषज्ञ चिकित्सकहरूलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा फर्किनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभर स्वास्थ्य सेवाको सन्तुलन कायम गर्न तथा दुर्गम क्षेत्रमा देखिएको विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्ने उद्देश्यले कडाइ थालेकी हुन्। सोही निर्णयअनुसार पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लामो समयदेखि प्रभाव र पहुँचका आधारमा सुगम क्षेत्रमा बस्दै आएका चिकित्सकका कारण दुर्गम तथा विकट क्षेत्रका सर्वसाधारण आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुँदै आएका थिए। अब भने त्यस्ता प्रवृत्तिमा नियन्त्रण गर्दै आवश्यक जनशक्ति दुर्गम क्षेत्रमा परिचालन गरिने बताइएको छ।
मन्त्री मेहताले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै देशका सबै क्षेत्रमा समान रूपमा सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनले आगामी दिनमा पनि दरबन्दी विपरीत काजमा बसेका चिकित्सकहरूलाई क्रमशः फिर्ता पठाउने स्पष्ट पारेकी छन्।
यस कदमले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ भने स्वास्थ्य क्षेत्रमा देखिएको असन्तुलन घटाउने विश्वास सरकारको छ।
