२१ जेठ २०८३, बिहिबार

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

Logo
आजको अपडेट आइतबार, बैशाख २०, २०८३

काठमाडौँ, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो ।

सभापति लामिछानेले भन्नुभयो, “निजीक्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।” उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको पनि जानकारी दिनुभयो । उहाँले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पार्नुभयो ।

“तपाईंले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन, टेक्नु पर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढङ्गबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो । “हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निसानामा परिरहेका छौँ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो ।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

‘सरकारले नागरिकलाई घरबारविहीन बनाउँदैन’

फरक प्रसङ्गमा सभापति लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पार्नुभयो । “देशका नागरिक कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ । आज केही समस्या भएको छ, तर यसले सधैँका लागि समस्या समाधान गर्छ । हामीले खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300