विराटनगर , ६ जेठ । नीति, कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी तीनदिने छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जेठ ६ गते सम्पन्न कार्यक्रममा धनकुटाको चौबीसै गाउँपालिकाका पदाधिकारीसहित विभिन्न सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यपालिकाका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन, संघसंस्था, सहकारी, स्थानीय सञ्चारकर्मी, नागरिक समाज, टोल विकास समिति, साना सिंचाई उपभोक्ता समितिका संयोजक लगायतको सहभागिता रहेको थियो ।
तीनदिने कार्यक्रममा पहिलो दिन ७५ जना, दोस्रो दिन ८१ जना र तेस्रो दिन ९६ जना गरी कुल २५२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीमध्ये ४३ जनाले आफ्ना विचार, सुझाव तथा जिज्ञासा राखेका थिए ।
दोस्रो दिनको कार्यक्रममा सव–डिभिजन वन कार्यालय डाँडाबजारका प्रमुख श्रीनारायण यादव, इलाका प्रशासन कार्यालय राजारानीका प्रमुख भोगेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय राजारानीका प्रमुख इन्सपेक्टर रामप्रसाद खनाल तथा नेपाल विद्युत प्राधिकरण राजारानी फ्युज वितरण केन्द्रका प्रमुख अनिस श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था, असल अभ्यास तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटको प्रारुप सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु, उपाध्यक्ष टंकमाया पाङ्मी मगर तथा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले गाउँपालिकाबाट प्रवाह हुने सेवालाई आगामी दिनमा अझ प्रभावकारी बनाउने तथा प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
