विराटनगर, ८ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गर्नुभएको छ । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित एवं वैज्ञानिक रहेको बताउनुभएको छ । उहाँले आफ्ना काम, कर्तव्य तथा सामाना गर्नुपरेको कठिनाइका बाबजुद पनि आयोगलाई जीवित एवं सशक्त बनाउने प्रयास सराहनीय रहेको बताउनुभयो ।
प्रदेश प्रमुख खापुङले आयोगको समस्या आयोगको मात्र नभएर देशको भएकाले देखिएका समस्या समाधान हुन सकेमा मात्र देश समृद्ध हुनेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कायम राख्न सरकारले आयोगले देखाएका समस्यालाई समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा आयोगका अध्यक्ष अलीले संविधानमा व्यवस्था भएबमोजिम कानुनको परिधिभित्र रहेर आयोगले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले समुदायस्तरबाट आएका सुझाव र समस्यालाई समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
