२१ जेठ २०८३, बिहिबार

अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

Logo
आजको अपडेट शुक्रबार, जेठ १५, २०८३
AI Photo

कञ्चनपुर, १५ जेठ । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्नुहुन्छ । तर उहाँ नगदमा तरकारी बेच्नुहुन्न । खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी उहाँले गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिनुहुन्छ ।

“आजभोलि गहुँको याम भएकाले गहुँसँग तरकारी साट्छौँ, धानको सिजनमा धानसँग पनि साट्छौँ”, उहाँले भन्नुभयो, “दुई तौल गहुँबराबर एक तौल तरकारी दिन्छौँ, नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुन्छ ।”

साँझ खेतबारीबाट तरकारी टिपेर सफा गरी टोकरीमा राख्ने र बिहानै गाउँगाउँ पुगेर अन्नसँग साट्ने काम दैनिकजसो हुने गरेको उहाँ बताउनुहुन्छ । अहिले गाउँघरमा ताजा तरकारीको माग बढेकाले महिलाहरूले २० देखि ३५ किलोसम्म तरकारी टोकरीमा बोकेर बिक्रीका लागि लैजाने गर्नुहुन्छ । तरकारीसँग अन्न साटेपछि फर्किँदा भारी दोब्बर हुने भएकाले घरपरिवारका सदस्यलाई फोन गरेर अन्न बोक्न बोलाउनुपर्ने अवस्था आउने गरेको उहाँले सुनाउनुभयो ।

कञ्चनपुरका ग्रामीण क्षेत्रमा तरकारीसँग अन्न साट्ने चलन नयाँ होइन । लालझाडी गाउँपालिका–४ का मङ्गलबहादुर चौधरीका अनुसार यो परम्परा धेरै पुरानो हो । “पहिले नगदको पहुँच कम हुँदा गाउँघरमा वस्तु साटासाटको चलन थियो”, उहाँले भन्नुभयो, “अहिले बजार र प्रविधिको पहुँच बढे पनि गाउँमा त्यो चलन अझै बाँकी छ ।”

विशेषगरी ग्रामीण क्षेत्रमा अधिकांश परिवार कृषिमा निर्भर भएकाले सिजनअनुसार अन्नको उपलब्धता हुने गर्छ । त्यही कारण किसानहरू नगदभन्दा अन्न दिएर तरकारी लिन सहज मान्छन् । अन्नसँग तरकारी साट्दा किसानलाई दोहोरो फाइदा हुने गरेको छ । एकातिर तरकारीखेती गर्ने परिवारले वर्षभरिको अन्न जुटाउन सक्छन् भने अर्कातर्फ बजारमा बिक्री गर्दा नगद आम्दानी पनि हुन्छ । अहिले बजारमा तरकारी प्रतिकिलो रु २० देखि रु ५० सम्ममा बिक्री भइरहेको छ भने गहुँको मूल्य प्रतिकिलो रु ४० देखि रु ४२ सम्म रहेको छ ।

थोरै जमिन भएका किसानका लागि तरकारीखेती आम्दानीको महत्त्वपूर्ण स्रोत बन्दै गएको पिपलाडीका गङ्गा चौधरी बताउनुहुन्छ । “उत्पादन भएको तरकारी अन्नसँग साटेर घरखर्च चलाउने र बाँकी बजारमा बिक्री गरेर नगद आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “सासूहरूले पनि यसैगरी पहिला तरकारी बेच्थे, अहिले पनि ग्रामीण क्षेत्रमा अझै यो प्रचलन जीवित रहेको छ ।”

तरकारी उत्पादनमा पुरुषको सहभागिता रहने भए पनि तरकारी स्याहार्ने, रोगकीरा नियन्त्रण गर्ने, टिप्ने र गाउँगाउँ पुगेर बिक्री गर्ने काममा महिलाको भूमिका बढी देखिन्छ । यसले ग्रामीण महिलाको आर्थिक सक्रियता र पारिवारिक जिम्मेवारी दुवैलाई उजागर गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300