२३ जेठ २०८३, शनिबार

एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

Logo
आजको अपडेट बिहिबार, जेठ २१, २०८३

सिरहा, २१ जेठ । सिरहामा माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ ।

गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै आज नष्ट गरिएको हो ।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताउनुभएको थियो । सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिरहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो ।

उपसमिति संयोजक यादवका अनुसार बरामद गरिएका मोबाइल तथा स्मार्टवाच जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा राखिएको थियो । त्यसपछि थप प्रयोगयोग्य नहुने गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य रु एक करोडभन्दा बढी रहेको जनाइएको छ । केही अभिभावक तथा सरोकार भएकाले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए । तर, सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

मधेस प्रदेशमा एसइई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो सङ्ख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300