१२ साउन २०८३, मंगलबार

नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

Logo
रासस आइतबार, जेठ ३१, २०८३

काठमाडौँ, ३१ जेठ।  विज्ञहरुले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको आज यहाँ आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको उहाँहरुको भनाइ थियो ।

औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उहाँहरुले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिनुभयो । नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको ‘हव’ बनाउन सकिने सम्भावना रहेको औँल्याउनुभयो ।

सङ्घअन्तर्गत हाल अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत सन् २०२५ मा ३३ लाख ७८ हजार ४२ जनाले परीक्षण गरेका थिए भने दुई लाख ६६ हजार ४०१ को शल्यक्रिया गरिएको थियो । सभाको शुभारम्भ गर्नुहुँदै कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले तीन तहको सरकारले आँखा उपचार सेवाका लागि पत्याएको र विश्वास जितेका संस्थाका रुपमा नेपाल नेत्रज्योति सङ्घ रहेको चर्चा गर्दै आगामी दिनमा संस्थाले ग्रामीण विपन्न जनताको आँखा उपचार सेवाको पहुँचमा ल्याउन थप काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तीन तहका सरकारले आँखा उपचार सेवाका लागि लगानी बढाउनुपर्छ । यसका लागि सङ्घले पनि आफ्नोे क्षमता विस्तार गर्नुपर्छ ।” उहाँका अनुसार गत आवमा प्रदेश सरकारले सङ्घअन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमलाई रु २५ बराबरको सामग्री हस्तान्तरण गरेको थियो ।

रेसुङ्गा नगपालिकाका प्रमुख खिलध्वज पन्थीले आँखा उपचार सेवामा नगरपालिकाले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै आर्थिक अभावका कारण मोतियाविन्दुलगायत अन्य उपचार सेवाको अभाव हुन नदिएको बताउनुभयो । प्रा डा देवनारायण साहले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम बताउनुभयो ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव भरतबहादुर चन्दले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । संस्थागत महासचिव प्रा डा पोखरेल सम्मानित कार्यक्रममा सङ्घका संस्थापक महासचिव प्रा डा रामप्रसाद पोखरेललाई डा नन्द श्रेष्ठ अम्बिका श्रेष्ठ नेत्रज्योति सामाजिक सम्मान अपर्ण गरिएको थियो ।

नेपालमा आँखा उपचारको संस्थागत प्रादुर्भाव, उन्नयन र विकासमा अतुलनीय योगदान पु¥याएबापत उहाँलाई सो सम्मान अपर्ण गरिएको हो । त्यस अवसरमा नेत्रज्योति विशिष्ट सम्मान रेसुङ्गा र गोरखा नगरपालिका, प्रा डा देवनारायण साह, प्रा डा रघुनन्दन व्याँजु, लायन्स क्बल इन्टरनेसनल मल्टिपल काउन्सिल ३२५, सञ्जय खेतान, कृष्णहरि सापकोटा, जापानी नागरिकद्वय प्रा डा ताकेसी नाइतो र डा जुनसुके अकुरालाई प्रदान गरियो ।

त्यसैगरी, लाइफटाइम एचिभमेन्ट अवार्डबाट श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, पदमनारायण चौधरी, प्रा डा दिलबहादुर क्षेत्री, वामदेव खनाल, नेत्रमणि लामिछाने र मायादेवी बज्राचार्यलाई सम्मान गरियो । नेत्रज्योति उत्कृष्ट जिल्ला शाखाका रुपमा सङ्खुवासभा, नेत्रज्योति उत्कृष्ट आँखा अस्पताल सम्मानबाट विराटनगर आँखा अस्पताल, नेत्रज्योति उत्कृष्ट आँखा उपचार केन्द्र सम्मानबाट कालीगण्डकी आँखा उपचार केन्द्र र नेत्रज्योति डा निकोल ग्रासेट सम्मानबाट डा पुष्पा गिरीलाई सम्मानित गरियो । कार्यक्रममा नेत्रज्योति सम्मान विन्दुसागर राजभण्डारी, शैलेन्द्रमान सिंह, कुमार पृथु, शालिकराम गौतम, मीना राई र देवबहादुर बुढाक्षेत्रीलाई सम्मान गरियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300