तनहुँ, ५ असार। जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो ।
पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो ।
” फागुन र चैत महिनामा नौ वटा स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न स्वास्थ्यकर्मी र स्वयंसेविका महिलाको भूमिका अतुलनीय रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
उक्त छवटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले बालबालिकाको रोग निवारण, उन्मुलन र रोकथामका लागि खोपको महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खोप सुरक्षित र शक्तिशाली भएका कारण बाल मृत्युदर न्यून बन्दै गएको छ ।
” जिल्लाका १० वटै पालिका पूर्ण खोप घोषणा भइसकेको र छिट्टै सार्वजनिक गर्ने योजना रहेको छ ।
