०५ आषाढ २०८३, शुक्रबार

राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौँ, ५ असार।  राष्ट्रियसभाका सदस्यहरुले गत वैशाखमा वाग्मतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीले औषधि र पानी पनि नपाएको दाबी गर्नुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा) ले सुकुमबासीको दुई महिना बितिसक्दा पनि उचित व्यवस्था गर्न नसकिएको बताउनुभयो । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले घरेलु हिंसा पीडितलाई न्याय दिने व्यवस्था मिलाउन माग गर्नुभयो । राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले स्थानीयस्तरबाट आएको नीति तथा कार्यक्रम बजेटमा नपरी पहुँचका आधारमा परेको गुनासो गर्नुभयो ।

राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयमा गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर नौ घण्टासम्म दबाबमा राखेर काम गर्न लगाएकामा आपत्ति जनाउनुभयो ।

राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले मुक्त कमैयाका लागि ठूला बस्ती व्यवस्था गरेपनि रोजगारीको व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो । राष्ट्रियसभा सदस्य भुवन सुनारले अन्तरजातीय विवाह गर्ने छोरीको बर्दियामा ज्यूँदै क्रिया गर्नेलगायत दलित समुदायमाथि भइरहेका ज्यादतीका विषयमा कानूनी कारबाही नभएको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य युवराज शर्माले बन्द भएको चिया उद्योगका विषयमा के गरिरहेको छ भनी जिज्ञासा राख्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैह्रेले निर्माण व्यवसायीका सन्दर्भमा मन्त्रीले दिएका अभिव्यक्तिबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300