विराटनगर, ११ असार । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५६ लाख ५७ हजार ४ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको २१औँ गाउँसभाको अधिवेशनमा उपाध्यक्ष कुमारी विभा यादव ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३७ करोड २१ लाख ३७ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १४ करोड २४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी वर्षका लागि संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नागरिकको जीवन रक्षा, रोजगारमूलक र गुणस्तरीय आधारभूत शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।
यसका साथै कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण तथा विद्युतीकरण सिँचाइमार्फत उत्पादकत्व वृद्धि गर्ने लक्ष्य बजेटमा समेटिएको छ। सिँचाइका लागि आवश्यक विद्युत् महसुल निःशुल्क गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
बजेटले लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्द्धन, सांस्कृतिक तथा धार्मिक पर्यटन विकास, अपाङ्गतामैत्री सेवा, युवा तथा खेलकुद, बालमैत्री वातावरण, विपद् जोखिम न्यूनीकरण तथा उद्धारका कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ।
त्यस्तै उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, निजी क्षेत्र तथा गैरसरकारी संस्थासँग सहकार्य, प्रविधिमैत्री एवं नागरिकमैत्री सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यसहितका कार्यक्रम बजेटमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ।
