१२ साउन २०८३, मंगलबार

कृषि मन्त्री मन्सुरीको पहलमा ३ करोड ८४ लाख बढी सहकारी बचत फिर्ता

Logo
आजको अपडेट शनिबार, आषाढ २०, २०८३

विराटनगर, २० असार । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सञ्चालन गरिएको सहकारी बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभरका पीडित बचतकर्ताको बैंक खातामा ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा सिधै जम्मा गरिएको छ।

प्रदेश सरकारले समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गरिरहेको जनाएको छ। ठूलो रकम बचत गरेका तथा साना बचतकर्तालाई समेत प्राथमिकताका आधारमा राहत उपलब्ध गराउँदै दाबी गरेका बचतकर्ताको खातामै रकम पठाउने व्यवस्था गरिएको सरकारको भनाइ छ।

सहकारी व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत उक्त सहकारीमा १०१ वटा ऋण फुकुवा, २३० जना ऋणीबाट ऋण असुली तथा १६७ वटा बचत मिलानमार्फत ऋण समायोजन सम्पन्न भएको छ। यस क्रममा १५ करोड ३७ लाख ४० हजार रुपैयाँ नगद ऋण असुली गरिएको छ भने बचत मिलानमार्फत २ करोड ९० लाख ९८ हजार ६४ रुपैयाँ ७४ पैसा बराबरको ऋण समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ।

यस्तै, मागदाबी गरेका बचतकर्तामध्ये पहिलो चरणमा १७३ जनालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ। बाँकी बचतकर्तालाई पनि दाबीको अवस्था र उपलब्ध स्रोतका आधारमा चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ।

उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीले सहकारी क्षेत्रप्रति जनविश्वास पुनःस्थापित गर्न, बचतकर्ताको हित संरक्षण गर्न तथा समस्याग्रस्त सहकारीको व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकार निरन्तर सक्रिय रहेको बताए। उनका अनुसार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै पीडित बचतकर्तालाई न्याय दिलाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक हो।

प्रदेश सरकारले सहकारी सुधार, वित्तीय अनुशासन कायम गर्ने, बचतकर्ताको हित संरक्षण गर्ने तथा समस्याग्रस्त सहकारीको प्रभावकारी व्यवस्थापनका लागि बचत फिर्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। साथै, सहकारी पीडितलाई क्रमिक रूपमा राहत उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300