१२ साउन २०८३, मंगलबार

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

Logo
रासस सोमबार, आषाढ २९, २०८३

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको बताइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।

त्यसैगरी, ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उहाँका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300