विराटनगर, ४ साउन ।
रैथाने माटोमा
पुर्खाको पसिना बोलिरहेछ,
ढुङ्गा, धारा र वनले इतिहास सम्झाइरहेछ।
तर गाउँको आँगन
अझै अन्यायले
ढाकिएको छ,
विकासको नाममा संस्कृतिको मुटु
चर्किएको छ।
जहाँ लोभले नदीको
गीत चोरेको छ,
र स्वार्थले सहकार्यको दीप निभाएको छ।
मानिस आफ्नै घरमा पराइझैँ बनेको छ,
सत्य बोल्ने ओठमाथि डरको ताला लागेको छ।
तर रैथाने आत्मा
कहिल्यै मर्दैन,
ढिकी, जाँतो र बाँसुरीको स्वर अझै बाँच्छ।
साझा श्रमको पसिनाले खेत हरियाली छ,
मेलापातले सम्बन्धको पुल बनाउँछ।
संघर्ष नै परिवर्तनको पहिलो बीउ हो,
साहस नै भविष्यको पहिलो बाटो हो।
एक्लो आवाज
दबिन सक्छ,
तर जनताको स्वर
कहिल्यै हराउँदैन।
हामी विष होइन,
विश्वास रोपौँ,
घृणा होइन,
सहकार्यको
बोट हुर्काऔँ।
रैथाने ज्ञानलाई
विज्ञानसँग जोडौँ,
परम्परालाई नवीन सोचसँग मोडौँ।
वन जोगाऔँ,
पानी बचाऔँ,
माटोको सम्मान गर्दै विकास गरौ।
युवाको सपना
गाउँमै फुलाऔँ,
सीप र श्रमले
समृद्धिको बाटो खोलौ।
जब जनता सचेत हुन्छन्,
अन्यायका पर्खाल
आफैँ ढल्छन्।
जब संस्कृति र प्रगति हातेमालो गर्छन्,
राष्ट्रका सपना
उज्यालो बन्छन्।
संघर्षको जगमा
परिवर्तन उठ्छ,
परिवर्तनबाट
समृद्धिको घर बन्छ।
रैथाने आत्मा, सामाजिक क्रान्ति र न्यायको यात्राले
नयाँ नेपालको
उज्यालो बिहान रच्दछ।
