१२ साउन २०८३, मंगलबार

गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर

Logo
आजको अपडेट बिहिबार, साउन ०७, २०८३
पेरिस, ७ साउन (रासस\एएफपी):

मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ । अध्ययनअनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आद्र्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन् चर्किएको हो ।

जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्मका धेरै देशले सुक्दै गएका नदी, पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन् । युरोप अहिले व्यापक खडेरीको चपेटामा परेको छ ।

विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) समूहको अध्ययनकी सहलेखक मरियम जचारियाले वसन्त ऋतुमा युरोपका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा भए पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले खडेरीलाई अझ गम्भीर बनाएको बताउनुभयो । उहाँका अनुसार अध्ययनले खडेरीको मुख्य कारण वर्षाको कमीभन्दा पनि तातो वातावरणले जमिनबाट बढी आद्र्रता तानेको देखाएको छ ।

इम्पेरियल कलेज लन्डनमा कार्यरत जचारियाले तातो वातावरणका कारण वर्षा सामान्य रहने वा भविष्यमा केही बढ्ने अनुमान गरिएका क्षेत्रमा समेत खडेरीको जोखिम बढ्दै गएको बताउनुभयो । वैज्ञानिकहरूका अनुसार तापक्रम प्रत्येक एक डिग्री सेल्सियस बढ्दा वायुमण्डलले करिब सात प्रतिशत बढी जलवाष्प धारण गर्न सक्छ र यसका कारण माटो र वनस्पतिबाट पानीको वाष्पीकरण तीव्र हुन्छ ।

अध्ययनमा सन् १८५०–१९०० को पूर्व–औद्योगिक अवस्थासँग तुलना गर्दा कोइला, तेल र ग्यासको अत्यधिक प्रयोगका कारण पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियस बढिसकेको उल्लेख गरिएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले खडेरी, बाढी र गर्मीको लहरजस्ता चरम मौसमीय घटना थप बारम्बार र तीव्र बनाइरहेको छ ।

विश्वकै सबैभन्दा तीव्र रूपमा तापक्रम बढिरहेको महाद्वीप युरोप भएकाले यसको प्रभाव त्यहाँ अझ स्पष्ट देखिएको अध्ययनले औँल्याएको छ । कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार गत जुन पश्चिमी युरोपमा हालसम्मकै सबैभन्दा तातो जुन महिना बनेको थियो । उक्त गर्मीका कारण हजारौँ अतिरिक्त मृत्यु भएको अनुमान गरिएको छ ।

अध्ययनका अर्का सहलेखक तथा इटीएच जुरिचका डोमिनिक शुमाकरले जाडोयाममा पर्याप्त वर्षा भएका क्षेत्रसमेत केही महिनामै असाधारण रूपमा सुक्खा बनेको बताउनुभयो । उहाँका अनुसार तातो हावाले माटोको आद्र्रता तीव्र रूपमा घटाउने, त्यसपछि तापक्रम अझ बढ्ने र माटो झन् सुक्दै जाने दुष्चक्र सिर्जना हुन्छ ।

यसले डढेलो फैलिने जोखिमसमेत उल्लेखनीय रूपमा बढाएको उहाँको भनाइ छ । यस अध्ययनका लागि युरोप, संयुक्त राज्य अमेरिका र बेलायतका वैज्ञानिकहरूले मौसमसम्बन्धी तथ्याङ्क र कम्प्युटर मोडेलको विश्लेषण गरी हालको तातो जलवायु र पूर्व–औद्योगिक अवस्थाको तुलना गरेका थिए ।

अध्ययनअनुसार जलवायु परिवर्तन नभएको अवस्थाको तुलनामा अहिले पश्चिमी युरोपमा अत्यधिक सुक्खा माटो हुने सम्भावना पाँच गुणा र पूर्वी युरोपमा ११ गुणा बढी छ । त्यस्तै, पश्चिमी युरोपमा अप्रिलदेखि जुनसम्म माटो र वनस्पतिबाट आद्र्रता सोस्ने वातावरणीय क्षमता करिब ८० गुणा बढी हुने सम्भावना देखिएको छ । जचारियाले अहिलेको वायुमण्डल पहिलेभन्दा धेरै ‘तिर्खाएको’ अवस्थामा पुगेकाले पहिले सामान्य मानिने वर्षाको कमीले पनि अब निकै गम्भीर खडेरी निम्त्याउन सक्ने निष्कर्ष अध्ययनले प्रस्तुत गरेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300