१२ साउन, धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
सोमबार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका उपकरण बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भएर सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण ट्रकको अगाडिको भागमा रहेका चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नं. ९ का १८ वर्षीय सञ्जीव संगौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा प्रहरी खटिएको थियो ।
घटनापछि नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति नै आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको थियो । दुर्घटनाको कारण र आगलागीसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
