१२ साउन २०८३, मंगलबार

युरोपमा अमेरिकी सैन्य उपस्थितिको समीक्षा सुरु

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३
वासिङ्टन, १२ साउन (रासस/एएफपी) :

संयुक्त राज्य अमेरिकाले युरोपमा आफ्नो सैन्य उपस्थितिको औपचारिक समीक्षा प्रक्रिया सुरु गरेको छ । वासिङ्टनले नाटोका युरोपेली सदस्य राष्ट्रहरूले महादेशको परम्परागत सुरक्षाको जिम्मेवारी थप प्रभावकारी रूपमा वहन गर्नुपर्ने नीति अघि बढाइरहेका बेला यो कदम चालिएको हो ।

अमेरिकी रक्षा उपमन्त्री एल्ब्रिज कोल्बीले सामाजिक सञ्जाल एक्समार्फत रक्षामन्त्री पीट हेग्सेथले यसअघि घोषणा गर्नुभएको योजनाअनुसार समीक्षा सुरु भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार यो समीक्षा युरोपले आफ्नो परम्परागत सुरक्षाको प्रमुख जिम्मेवारी क्रमिक र अपरिवर्तनीय रूपमा ग्रहण गरिरहेको सुनिश्चित गर्न केन्द्रित रहनेछ ।

कोल्बीले यस समीक्षाले नाटोलाई अझ सुदृढ, न्यायोचित र दीर्घकालीन रूपमा दिगो सुरक्षा गठबन्धनका रूपमा रूपान्तरण गर्ने प्रक्रियालाई तीव्र बनाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा केही युरोपेली सहयोगी राष्ट्रहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न नदिएको भन्दै उनीहरूको पटक–पटक आलोचना गर्दै आउनुभएको छ ।

उहाँले युरोपेली सहयोगीहरूले रक्षा खर्चसम्बन्धी लक्ष्य पूरा नगरेसम्म नाटोमा अमेरिकाले गर्ने खर्च घटाउन सकिने चेतावनीसमेत दिनुभएको छ । वासिङ्टनले आफ्नो रणनीतिक प्राथमिकता क्रमशः चीनतर्फ केन्द्रित हुँदै गएकाले युरोपेली सहयोगीहरूले आफ्नै परम्परागत सुरक्षाको नेतृत्व लिनुपर्ने धारणा निरन्तर दोहोर्‍याउँदै आएको छ ।

यही रणनीतिअन्तर्गत पेन्टागनले नाटोका अभियानका लागि उपलब्ध गराइने आफ्ना विश्वव्यापी सैन्य स्रोतसाधनको परिमाण पनि क्रमशः घटाउँदै जाने जानकारी यसअघि नै सहयोगी राष्ट्रहरूलाई दिइसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300