

विराटनगर । महाशिवरात्रिको दिन आज पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।
पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।’
पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाण्डाैमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमान्डमा चार हजार दुई सय जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।
पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि पशुपति क्षेत्र विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चार वटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।