२१ जेठ २०८३, बिहिबार

मिथिला नाट्य कार्यशाला सुरु: युवा प्रतिभा विकासको अभियान

Logo
आजको अपडेट आइतबार, चैत्र ३०, २०८१

विराटनगर । नागरिक नाट्य कला केन्द्र बर्जुले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा १० दिने मिथिला नाट्य कार्यशालाको शुभारम्भ गरेको छ। ग्रामीण क्षेत्रका युवायुवतीहरूमा लुकेर रहेको प्रतिभालाई प्रकाशमा ल्याउने र स्थानीय कलाको संरक्षण गर्ने महत्त्वपूर्ण उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

बिहीबार आयोजित उद्घाटन कार्यक्रम नागरिक नाट्य कला केन्द्रका अध्यक्ष जितेन्द्र सरदारको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै अध्यक्ष सरदारले मिथिला नाट्य कलाको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय भाषा, कला र संस्कृति जोगाउन सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष नन्दकिशोर मेहताले नागरिक नाट्य कला केन्द्रले विगत १५ वर्षदेखि निरन्तर रूपमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले नाट्य कलामार्फत सामाजिक विकृति र विसंगतिहरूलाई दर्शाउन सकिने र समाधानको बाटो देखाउन सकिने विचार व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा बर्जु गाउँपालिकाकी उपाध्यक्ष नीतु कुमारी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले स्थानीय तहबाट समेत यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा वडा नं. १ का अध्यक्ष दिलबहादुर गुरुङले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै स्थानीय कलाकारहरूको विकासमा जोड दिनुभयो ।

दश दिनसम्म सञ्चालन हुने यस नाट्य कार्यशालामा बीस जना युवायुवतीहरूले सहभागिता जनाएका छन्। कार्यक्रममा प्रशिक्षक रुपेश झाले सहभागीहरूलाई मिथिला नाट्य कलाको विभिन्न पक्षहरूको बारेमा व्यावहारिक ज्ञान प्रदान गर्नुहुनेछ। कार्यशालाको अन्त्यमा सहभागीहरूले सिकेको सीपको प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300