०९ जेठ २०८२, बिहिबार

इलोन मस्कको सन्तान जन्माउने महिलाले पाउँछन् २ अर्ब, छोरीलाई नै थाहा छैन कति छन् दाजुभाइ दिदीबहिनी

बिहे नगरेका मस्कले विभिन्न महिलाबाट जन्माए १४ सन्तान
Logo
आजको अपडेट शनिबार, बैशाख ०६, २०८२

अहिलेको समयमा इलोन मस्कको नाम नसुन्ने शायद कमै होलान् । टेस्ला, एक्सएआई, स्पेसएक्स, द बोरिङ कम्पनी, न्युरालिंकजस्ता कम्पनीका मालिक मस्क विश्वकै धनाढ्य अर्बपति हुन् । अमेरिकी अखबार फेर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति ३ खर्ब ६४ अर्ब अमेरिकी डलर बराबर छ ।

उनी बारम्बार समाचारको हेडलाइन बन्छन् । कहिले जो रोगनको पडकास्टमा गाँजा तानेर त कहिले नाजी सलाम ठोकेर उनी बारम्बार चर्चामा आउने गरेका छन् । पछिल्ला केही महिनायता अमेरिकी विशेष सरकारी कर्मचारीका रुपमा ‘सरकारी चुस्तता विभाग (डोज)’ को प्रमुखको हैसियतमा पनि काम गरिरहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग गरेबापत उनलाई डोजको जिम्मेवारी दिइएको हो । पछिल्लो समय डोजले अमेरिकामा लाखौँको संख्यामा सरकारी कर्मचारी कटौती गरेपछि उनी आलोचनाको पात्रा पनि बन्दै आएका छन् ।

अहिले भने उनी अर्कै कारणले समाचारको हेडलाइन बनेका छन् । त्यो कारण हो– टिफनी फोङ नाम गरेकी युट्युबर । फोङका अनुुसार उनलाई मस्कले आफ्ना सन्तानको आमा बन्न ‘अफर’ गरेका थिए । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार फोङले मस्कको उक्त ‘अफर’ अस्वीकार गरेकी थिइन् ।

आफू परम्परागत परिवारको पक्षमा रहेको भन्दै मस्कको अफर अस्वीकार गरेको फोङको भनाइ छ । फोङ र मस्कबीच अहिलेसम्म भेट नभएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

हुन पनि मस्क सन्तानोत्पादनका लागि परिचित छन् । उनले विभिन्न महिलाहरुबाट हालसम्म १४ जना सन्तान पैदा गरेका छन् । र, उनका सन्तानका नाम पनि निकै अनौठा छन् । यद्यपि मस्कसँग निकट रहेकाहरु भने उनका सन्तानको वास्तविक सन्तानको संख्या त्योभन्दा धेरै रहेको हुनसक्ने बताउँछन् । एक पटक उनकी छोरीले भनेकी थिइन्– ‘मेरा कति दाजुभाइ दिदीबहिनी छन् भन्ने मलाई पनि थाहा छैन ।’

गत फेब्रुअरी महिनामा लेखिका एश्ले सेन्ट क्लेयरले आफूले मस्कको बच्चालाई जन्म दिएको सार्वजनिक गरेकी थिइन् । त्यस बच्चाको नाम रोमुलुस राखिएको छ । बच्चालाई जन्म दिएबापत मस्कले सेन्ट क्लेयरलाई एकमुष्ठ १ करोड ५० लाख डलर अर्थात् २ अर्ब नेपाली रुपैयाँभन्दा धेरै र बच्चा २१ वर्षको नहुन्जेलसम्म प्रतिमहिना १ लाख डलर अर्थात् साढे १३ करोड नेपाली रुपैयाँभन्दा धेरै पैसा दिने बाचा गरेको जर्नलले उल्लेख गरेको छ ।

त्यसबाहेक आफ्नो कम्पनीकी कार्यकारी शिभोन जिलिससँग मिलेर मस्कले ४ सन्तानलाई जन्म दिएका थिए । सन् २०२१ मा जिलिसले गोप्य रुपमा छोरा स्ट्रिडर र छोरी अजुरलाई जन्म दिएकी थिइन् । सन् २०२३ मा मात्रै उनीहरुले जुम्ल्याहा छोराछोरीको नाम र लिंग सार्वजनिक गरेका थिए ।

दुई सन्तानका साथ जिलिस

त्यसपछि सन् २०२४ मा पनि जिलिसले मस्ककी छोरीलाई जन्म दिएकी थिइन् । छोरीको नाम आर्केडिया राखिएको थियो । त्यसैगरी, यसै वर्षको शुरुवातमा फेरि जिलिसले सेल्डन लाइसर्गस नामक छोरालाई जन्म दिएको खुलासा गरेकी थिइन् ।

मस्कको पहिलो विवाह सन् २००० मा जस्टिन विल्सनसँग भएको बताइन्छ । सबैभन्दा शुरुमा सन् २००२ मा पहिलो सन्तान पाएका थिए । सबैभन्दा पहिले विल्सनबाट मस्कले नेभादा अलेक्जाण्डर नाम गरेका छोरा प्राप्त गरेका थिए । तर, जन्मेको १० सातामै अलेक्जाण्डर बिते ।

सन् २००४ मा मस्क विल्सन दम्पत्तिले आईभीएफमार्फत् भिभियन र ग्रिफिन नाम गरेका जुम्ल्याहा छोरालाई जन्म दिए । पछि सन् २०२० मा भिभियनले आफ्नो लिंग परिवर्तन गरेर महिला बनेको र आफ्नो नाम भिभियन जेना विल्सन राखेको समाचारहरुमा जनाइएको छ ।

जेना र मस्कबीच लामो समयदेखि विवाद रहँदै आएको छ । आफ्नै पिता भएपनि आफू र इलोन मस्कबीच कुनै किसिमको सम्बन्ध नरहोस् भन्दै उनले सन् २०२२ को अप्रिलमा अदालतमा उजुर दिएकी थिइन् । अदालतले सोही वर्षको जुन महिनामा उनको आग्रहलाई मञ्जुरी दिएको थियो ।

पछि अक्टोबर २०२२ मा मस्कले जेनाका बारेमा विवादित बयान दिएका थिए । त्यसबेला मस्कले फाइनान्सियल टाइम्सलाई भनेका थिए– ‘यो पूरै साम्यवाद भयो… सबै धनी मान्छे दुष्ट हुन्छन् भन्ने आम भावना पनि हो ।’

मस्कले अरु सबै सन्तानसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका थिए । आफूले सबै सन्तानको मन जित्न नसक्ने पनि उनले उल्लेख गरेका थिए । पछि सन् २०२४ मा मस्कले आफूलाई मूर्ख बनाउँदै भिभियन (जेना) को लिंग परिवर्तनको उपचार गरिएको आरोप लगाएका थिए । त्यसबेला आफ्नो ‘छोराको मृत्यु भइसकेको’ पनि टिप्पणी गरेका थिए ।

जेनाले भने बच्चा बेलामा आफू कस्तो थिएँ भन्नेबारे मस्कलाई केही थाहा नभएको प्रतिक्रिया दिइन् । उनले भनेकी थिइन्– ‘उनलाई बच्चा बेलामा म कस्तो थिएँ भन्ने थाहै छैन किनकी त्यसबेला उनी मेरो साथमा थिएनन्, जति थोरै समय थिए, मैले अनौठो प्रवृत्ति र स्त्री चरित्रका कारण बारम्बार दुःख पाएँ ।’

जेना विल्सन

सन् २०२४ मा जेनाले थ्रेड्समा पोस्ट गर्दै मस्कलाई ‘श्रृंखलाबद्ध व्यभिचारी’ को संज्ञा दिएकी थिइन् । ‘मेरा कति दाजुभाइ दिदीबहिनी छन् भन्ने मलाई पनि थाहा छैन ।’ भन्ने पनि उनै जेना हुन् ।

खैर, सन् २००६ मा मस्कको परिवारमा तिम्ल्याहा छोराहरु थपिए । त्यसबेला विल्सनले काइ, स्याक्सन र डामियानलाई जन्म दिएकी थिइन् । यी तिम्ल्याहा सन्तान पनि आईभीएफमार्फत नै जन्मेका थिए । पछि सन् २००८ मा विल्सन र मस्कबीच सम्बन्धविच्छेद भयो ।

मस्कले बेलायती कलाकार तालुला राइलीसँग सन् २०१० मा विवाह गरेका थिए । सन् २०१२ मा उनीहरुको सम्बन्धविच्छेद भयो । पछि सन् २०१३ मा उनीहरुले फेरि विवाह गरे । तर, दोस्रो पटकको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सन् २०१६ मा नै उनीहरुले दोस्रो पटक सम्बन्धविच्छेद गरे । मस्क र राइली दम्पत्तिबाट भने कुनै सन्तानको जन्म भएन ।

पछि सन् २०१८ मा मस्क क्यानेडियन कलाकारसँग सम्बन्धमा थिए । ग्राइम्सले मस्कका तीन सन्तानलाई जन्म दिएकी छिन् । ग्राइम्सले सन् २०२० मा छोरालाई जन्म दिएकी थिइन् । उनीहरुले जन्माएको छोराको निकै अनौठो नाम राखिएको थियो– ‘एक्स आश् ए–१२’ । पछि उनको नाम परिवर्तन गरेर ‘एक्स आश् ए–एक्सआईआई’ राखियो । सीआईएको लकहिड मार्टिन ए–१२ निगरानी जहाजको नामअनुसार नै मस्कले आफ्नो छोराको राखेको बताइएको छ ।

उनलाई ‘एक्स’ मात्रै भनेर बोलाउने गरिएको छ । ग्राइम्सले अंग्रेजी भाषीलाई समेत गाह्रो हुने नामको उच्चरणबारे प्रष्ट्याएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेका अनुसार छोराको नाम ‘एक्स एआई’ वा यस्तै केही उच्चारण हुन्छ । यद्यपि पछि इलोन मस्कले जो रोगनको पडकास्टमा छोराको नाम ‘एक्स आश् र ए–१२’ उच्चरण हुने प्रष्ट्याएका थिए ।

अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्प र मस्कको काँध चढेका एक्स

एक्स बारम्बार समाचारको हेडलाइन बन्दै आएका छन् । मस्कले विभिन्न बैठकहरु र भेटवार्तामा लैजाने छोरा उनै एक्स हुन् । बुबाले डोजको जिम्मेवारी पाएयता एक्स ह्वाइट हाउस र अरु स्थानमा हुने भेटवार्तामा मस्कसँगै बारम्बार देखा पर्दै आएका छन् ।

सन् २०२१ को डिसेम्बर महिनामा ग्राइम्सले ‘सरोगेट मदर’ मार्फत् मस्कको छोरीलाई जन्म दिएकी थिइन् । त्यसबेला मस्क र ग्राइम्सको ब्रेकअप भएको केबल तीन महिना भएको थियो । छोरीको नाम ‘एक्सा डार्क सिग्डिरिइल’ राखिएको थियो ।

ग्राम्सले गोप्य रुपमा सन् २०२२ मा मस्कको छोरालाई जन्माइन् । छोराको नाम ‘टेक्नो मेकानिकस’ राखिएको थियो । ‘टेक्नो मेकानिकस’ लाई माया गरेर ‘ताउ’ भनेर बोलाइन्छ ।

अब प्रश्न उठ्नसक्छ मस्कले किन यति धेरै सन्तान जन्माइरहेका छन् । सन्तानोत्पादनबारे मस्कले गत वर्ष साउदी अरबमा आयोजित एउटा लगानी सम्मेलनमा खुलासा गरेका थिए । त्यसबेला उनले अहिले विश्वमा घट्दो जन्मदर सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरेका थिए ।

साउदी अरबको लगानी सम्मेलनमा भिडियोमार्फत् सम्बोधन गर्दै उनले भनेका थिए– ‘म अधिकांश देशका बारेमा विचार गर्छु, उनीहरुले जन्मदरलाई समाधान गर्नुपर्ने सबैभन्दा ठूलो समस्याका रुपमा हेर्नुपर्छ । यदी तपाईँ नयाँ मानवलाई जन्म दिनुहुन्न भने मानवता रहँदैन र विश्वका सबै नीतिहरुको कुनै अर्थ हुँदैन ।’

उनले भनेका थिए– ‘त्यसैले मैले धेरै केटाकेटी पाएको छु र अरुलाई पनि धेरै सन्तान पाउन प्रोत्साहन गर्न चाहन्छु ।’

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300