

विराटनगर । बैज्ञानिक डा महाविर पुनले विर्गञ्ज स्थित कृषि औजार केन्द्र सञ्चालनका लागि आफूले किताब बेच्ने अभियान चलाएको बताउनु भएको छ ।
हिजो बुधवार औषधि व्यवसायी संघ मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदन–प्रदान तथा क्यालेण्डर सार्वजनिक कार्यक्रममा डा पुनले कृषि औजार कम्पनी चलाउनका लागि किताब बेच्ने अभियान सञ्चालन गरेको बताउनु भएको हो ।
अभियानका क्रममा तीन लाख थान किताब बेच्ने लक्ष लिएकोमा हालसम्म एक लाख ९० हजार थान किताब बिक्रि भइसकेको जानकारी दिनुभयो । पुनले अभियानबाट २० करोड रुपैयाँ संकलन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
उहाँले किताब बेचेर यतिधेरै पैसा संकलन होला भन्ने आँफैलाई पनि विश्वास नलागेको तर, किताब बेच्दै जाँदा रकम संकलन हुने संभावना देखिएको उहाँको भनाई छ ।
हालसम्म किताब बेच्ने अभियान लिएर ४२ जिल्ला पुगिसकेको र अन्य जिल्लाको पनि भ्रमण गर्ने योजना रहेको डा पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय आविश्कार केन्द्र भन्ने वित्तीकै बैज्ञानिकहरू बसेर आविश्कार गर्ने ठाउँ भन्ने बुझाइ भए पनि आविश्कार केन्द्र नयाँ अनुसन्धान गर्न चाहनेहरूका लागि अवसर दिने ठाउँ रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ मोरङले बैज्ञानिक पुनलाई सम्मानसमेत गरेको थियो ।