

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५७ औं वर्षगाँठको अवसरमा बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले बिहीबार विराटनगरमा विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव मनाएको छ ।
प्राधिकरणले बिहीबार बिहानै विराटनगरको तीन पैनीदेखि महेन्द्र चौकसम्म प्रभातफेरी गरी वार्षिकोत्सवको शुरुवात गरेको थियो । त्यसपछि विराटनगरको एक होटलमा वार्षिक समीक्षा, पुरस्कार वितरण तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका आर्थिक सल्लाहकार डा. मोहन कुमार सुवेदी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (NIPS) कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ र नेपाल सर्भेयर एसोसिएसन कोशीका अध्यक्ष ओम प्रकाश राठी विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमका सभापति तथा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले कोशी प्रदेशमा भएका बीमा गतिविधि, बीमाको वर्तमान अवस्था तथा आगामी दिनमा प्राधिकरणले गर्ने कार्यक्रमहरूको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
प्रमुख अतिथि डा. अधिकारीले प्रदेश योजना आयोगले योजना निर्माण गर्दा बीमा क्षेत्रलाई अझ प्राथमिकतामा राख्नुका साथै बीमा सम्बन्धी अध्ययन अनुसन्धान गरी बीमा क्षेत्रको गुणस्तरीय वृद्धिमा आफू तथा आफ्नो संस्थाबाट सहयोग हुने बताए । विशिष्ट अतिथि डा. सुवेदीले बीमा प्राधिकरण र कोशी प्रदेश सरकारबीच बीमा सम्बन्धमा गर्न सकिने समन्वयका विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए ।
NIPS कोशीका अध्यक्ष श्रेष्ठले बीमा प्राधिकरणबाट जारी नीति-नियमको पालना गर्दै आइरहेको र प्राधिकरणसँगको सहकार्यमा बीमा सम्बन्धी सचेतना कार्य गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा प्राधिकरणद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजेता महेन्द्र मोरङ क्याम्पसका छात्र धनराज शाहलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, फुटसल प्रतियोगिता र रक्तदान कार्यक्रम सफल पार्न भूमिका खेलेका बीमकका शाखा प्रमुखहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
कोशी प्रदेशस्थित सम्पूर्ण जीवन, निर्जीवन तथा लघु बीमकका प्रमुख, बीमा सर्भेयर, बीमकका कर्मचारी र पत्रकारहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक सचिन राईले गरेका थिए ।