

विराटनगर, जेठ ७ – कोशी प्रदेशमा यो वर्षको धान खेती सिजनका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा मौज्दातमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ । युरिया, डिएपी र पोटास मलको राम्रो व्यवस्था हुनुका साथै थप मल आपूर्ति प्रक्रिया पनि अगाडि बढेकोले अभावको अवस्था नआउने कम्पनीको दाबी छ ।
प्रादेशिक प्रमुख नरेशकुमार साफकोटाका अनुसार हाल प्रदेशभर करिब ५५० मेट्रिक टन युरिया मौज्दातमा रहेको छ भने थप ८,००५ मेट्रिक टन युरिया बाटोमा छ। डिएपी मल ४,४९० मेट्रिक टन मौज्दातमा छ भने ७,००० मेट्रिक टन भित्रिँदैछ । त्यस्तै, पोटास मल १,८९९ मेट्रिक टन मौज्दातमा रहेको छ ।
धान खेतीका लागि ३० हजार मेट्रिक टन मल आवश्यक
प्रादेशिक कार्यालयको अनुमान अनुसार कोशी प्रदेशमा धान खेतीको लागि करिब ३० हजार मेट्रिक टन मल आवश्यक पर्छ। अहिले मौज्दात र आपूर्तिमा रहेका मलले किसानको आवश्यकता सहजै पूरा गर्न सकिने कम्पनीको दाबी छ ।
मल वितरण आइतबारदेखि सुरु हुँदै
विराटनगर कार्यालयले पहाडी जिल्लामा पहिले नै मल पठाइसकेको र अब तराईका जिल्लाहरू—सुनसरी, मोरङ लगायतमा आइतबारदेखि मल वितरण सुरु हुने जनाएको छ । मल वितरणका लागि प्रदेश मल व्यवस्थापन समितिले तोकेको कोटा अनुसार स्थानीय तहबाट सिफारिस प्राप्त भएपछि वितरण हुने व्यवस्था छ ।
१७० सहकारीमार्फत वितरण
इलाम, बिर्तामोड, इटहरी, धनकुटा, गाईघाट, विराटनगर, लाहान र राजविराजका क्षेत्रीय कार्यालयमार्फत कम्पनीले १७० सहकारी संस्थामार्फत मल वितरण गरिरहेको छ । साथै, कृषि चुन पनि मौज्दातमा रहेको र माग अनुसार उपलब्ध गराइने जानकारी दिइएको छ ।
‘यसपटक मलको अभाव हुदैन’
प्रमुख साफकोटाका अनुसार अघिल्ला वर्षहरूमा मल अभावका कारण किसानले उत्पादनमा समस्या भोगेका थिए । तर यसपालि समयमै मल आपूर्ति हुने भएकाले यस्तो अवस्था नदोहरिने उनी बताउँछन् । “सरकारले खाद्यान्न उत्पादनमा जोड दिएको छ । त्यसअनुसार मल व्यवस्थापनमा कुनै ढिलाइ हुने छैन,” उनले भने ।
सीमावर्ती क्षेत्रका किसानहरूले विगतमा भारतबाट मल ल्याउने प्रयास गर्दा सुरक्षाकर्मीको कडाइले समस्या भोग्नुपरेको गुनासो आइरहे पनि, कम्पनीले यसपटक स्वदेशमै पर्याप्त मल आपूर्ति हुने विश्वस्त पार्दै आएको छ ।