

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘महानगर अटिज्म सेवा केन्द्र’मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा १८ जनाको आँखा र कान परीक्षण गरिएको थियो । जसमध्ये १० जनामा आँखाको र ६ जनामा कानको समस्या देखिएको सेवा केन्द्रकी संयोजक रश्मी निरौलाले जानकारी दिनुभयो । समस्या देखिएकालाई थप उपचारका लागि विराटनगर आँखा अस्पतालमा रेफर गरिएको छ ।
स्वास्थ्य शिविरको अनुगमन वडा नम्बर १ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, र स्वास्थ्य अधिकृत रमेश कार्की लगायतले गर्नुभएको थियो ।
गत कात्तिकमा मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभएको सेवा केन्द्रमा हाल २० जना बालबालिकाले सेवा लिइरहेका छन् । महानगरले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरी ३० लाख लागतमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी, मनोचिकित्सक सेवा, खेलकुद सामग्री, र निःशुल्क बस सेवा समेत उपलब्ध गराइएको छ । विराटनगर क्षेत्रमा हाल ५१ जना अटिज्म भएका बालबालिका रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।