

विराटनगर, मोरङ — समाजमा अझै पनि धामी–झाँक्रीप्रतिको विश्वास कायमै छ, तर यस्ता विश्वासकै कारण कतिपय नागरिक ठगी र हिंसाको सिकार बन्न बाध्य छन् । झारफुकको नाममा मानिसहरूले स्वास्थ्य समस्याको समाधान खोज्ने प्रयास गर्दछन्, तर वैज्ञानिक प्रमाणको अभावमा यस्तो विधि अस्वीकृत नै छ । यसैबीच, विराटनगरमा झारफुकको बहानामा नाबालिका बालिकामाथि यौन दुर्व्यवहारको गम्भीर घटना सार्वजनिक भएको छ ।
विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय मोहम्मद साबिर मोलवीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनीमाथि १५ वर्षीया एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडित परिवारको उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
बालिका केही महिनादेखि मानसिक अशान्ति, डर र बेहोसीको समस्याबाट पीडित थिइन् । उपचारले सुधार नआएपछि परिवारले झारफुकको आश्रय लिएको थियो । बालिकाको भनाइ अनुसार, मोलवीले झारफुकको नाममा रातको समयमा मात्र क्रिया गर्ने, उनलाई एक्लै कोठामा राख्ने जस्ता गतिविधि गर्दै आएका थिए ।
पीडितले चिकित्सकीय परीक्षणपछि आफूले यौन दुर्व्यवहारमा परेको कुरा बाबुआमालाई बताइन् । त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएको हो । प्रहरीले बालिकाको बयान र अन्य प्रमाणका आधारमा मोलवीलाई पक्राउ गरी बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाको गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन् । पीडित परिवारका अनुसार मोलवीले झारफुकको पहिलो चरणमा ७० हजार रुपैयाँ सेवा शुल्क लिएका थिए भने पछि पनि पटक–पटक रकम मागेका थिए ।