विराटनगर, असार २६ । विराटनगरस्थित गोल्डेन हस्पिटलले शल्यक्रिया सेवामा विशेष सहुलियत दर ल्याएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले विभिन्न शल्यक्रिया सेवा सस्तो, सुरक्षित र सहज रूपमा उपलब्ध गराउने घोषणा गरेको हो ।
हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारका अनुसार लामो समयदेखि उपचारको प्रतीक्षामा रहेका बिरामीहरूलाई लक्षित गर्दै यस योजना ल्याइएको हो । उनले हाइड्रोसिल र एपेन्डिक्सको शल्यक्रिया १९,९९९ रुपैयाँमा, सिजेरियन डेलिभरी १५,००० रुपैयाँमा र सामान्य डेलिभरी ४,९९९ रुपैयाँमा गरिने जानकारी दिए ।
शल्यक्रिया सेवामा १० देखि १५ वर्षको अनुभव भएका विशेषज्ञ चिकित्सकहरू संलग्न हुने अस्पतालले जनाएको छ । साथै, ५ वर्षमुनिका बालबालिकालाई सम्पूर्ण सेवामा २५ प्रतिशत छुट तथा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको सुविधा उपलब्ध गराइएको छ ।
डा. रौनियारले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै अस्पतालले नाफाभन्दा मानव सेवा प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेको स्पष्ट पारे । मातृ तथा शिशु मृत्युदर घटाउने, गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित गर्ने तथा झन्झटिलो प्रक्रिया हटाउने उद्देश्यका साथ सेवा प्रवाह गरिने उनले बताए ।
‘तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारालाई व्यवहारमा उतार्दै अस्पतालले पूर्वी नेपाल मात्र नभई देशभरका बिरामीलाई लक्षित गरेको जनाएको छ । अस्पतालले आगामी दिनमा थप जनमैत्री सेवा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
