२१ जेठ २०८३, बिहिबार

हरिनगरमा १८ वर्षीया किशोरीको गोली हानी हत्या, भिनाजु फरार

Logo
डुमरलाल मेहता सोमबार, आषाढ ३०, २०८२

विराटनगर । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका–६ घुस्कीमा राति २:३० बजे एक १८ वर्षीया किशोरीको गोली हानी हत्या भएको छ। स्थानीय महरम चौककी अरसी खातुनको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार खातुनलाई उहाँकै भिनाजु भारतको बिहार राज्य अन्तर्गत पत्रहा पंचायत–१६ घुर्नाका अजाद मियाँ जटले गोली प्रहार गरेका हुन्। खातुनका बुबा ४६ वर्षीय गफार मियाँले दिएको जानकारीअनुसार २९ वर्षीय अजाद मियाँ जट घटनापछि फरार भएका छन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी घुस्कीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो।

घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने १ थान नपड्केको गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार खातुनको टाउकोको बाँया भागमा गोली लागेको छ।

घटनापछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ। फरार अभियुक्त अजाद मियाँ जटको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा व्यक्तिगत वा पारिवारिक विवादका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ। थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300