विराटनगर । वाइसीएल नेपाल कोशी प्रदेश समितिले आजबाट प्रदेशभर श्रम अभियान सुरु गरेको छ। वाइसीएल सुनसरीको सहकार्य र धरान उपमहानगर समितिको व्यवस्थापनमा धरानको कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गर्दै अभियानको उद्घाटन गरिएको हो ।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुरसहित १० जिल्लामा विभिन्न गतिविधिबाट अभियान थालिएको प्रदेश अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।
वाइसीएल इलामको आयोजनामा माइ नगरपालिका–२ र ४ मा पर्ने नमुना सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा सरसफाइ, वृक्षारोपण र बेसार रोपिएको छ ।
देशैभर सुरु भएको ‘श्रम तथा उत्पादनमा वाइसीएल’ अभियान अन्तर्गत ललितपुरको बालकुमारी चौरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृक्षारोपण, इँटा राख्ने, नाली सफा गर्ने र घाँस काट्ने कार्य गरी अभियानको सुरुवात गरेका हुन् ।
गत असार १७ र १८ गते बसेको वाइसीएल पदाधिकारी बैठकले साउन र भदौ महिनाभर सञ्चालन हुने गरी दुई महिनाको श्रम अभियानको निर्णय गरेको हो ।
