सुनसरी । सुनसरी जिल्लामा खोलानदीमा नुहाउने क्रममा दुई फरक घटनामा तीन जना बालबालिका ज्यान गुमाउने र बेपत्ता हुने घटना भएको छ ।
बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा सोमबार नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् ।
भोक्रहा नरसिंह गाउँपालिका–१ का ११ वर्षीय दीपेश मेहता, श्रावण महिनाको पूजाका लागि गाउँका अन्य भक्तजनहरूसँगै सप्तकोशी नदी गएका थिए। नुहाउने क्रममा दीपेश बेपत्ता भएको वडा अध्यक्ष लक्षमन मेहताले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार दीपेशसँगै गएका अन्य दुई जना बालक सकुशल फर्किए पनि उनी बेपत्ता भएका हुन् ।
उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित गरिएको छ ।
यसैबीच, आइतबार इटहरी उपमहानगरपालिका–३ स्थित ट्यांग्रा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ९ वर्षीय दीपसन चौधरी र क्रिश्वास लिम्बू रहेका छन् ।
दुवै बालक डुबेको अवस्थामा उद्धार गरिए पनि उपचारको क्रममा ज्यान गुमाएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
यी दुःखद घटनाहरूले खोलानदी क्षेत्रमा बालबालिकाको सुरक्षामा अभिभावक र समुदायको ध्यान आवश्यक रहेको संकेत गरेका छन् ।
