विराटनगर — विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका १ हजार ६५ जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक संरचना, नीतिनियम, अवसर तथा शिक्षण पद्धतिबारे जानकारी दिइएको थियो । कलेज प्रशासनले नवप्रवेशीहरूलाई भावी शैक्षिक यात्राका लागि आवश्यक मार्गदर्शनसमेत प्रदान गरेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले अध्ययनसँगै सामाजिक जिम्मेवारीलाई पनि सँगै लैजान सुझाव दिएका थिए । उनले ८० प्रतिशत समय अध्ययनमा र २० प्रतिशत समय सामाजिक कार्यमा समर्पण गर्न सके व्यक्तित्वको समुन्नति हुने धारणा राखे ।
कलेजका प्रिन्सिपल भुवन नेपालका अनुसार यस वर्ष विज्ञान संकायमा ४०५, व्यवस्थापनमा ५१० र होटल व्यवस्थापनमा १५० जना गरी कुल १ हजार ६५ विद्यार्थी भर्ना भएका छन्। प्रवेश परीक्षामा सहभागी दुई हजारभन्दा बढी विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउनेहरू छनोट गरिएको जानकारी दिइयो ।
उनले विगतका वर्षहरूमा कलेजले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको हुँदा विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको उल्लेख गरे ।
कार्यक्रममा एसईईमा ४.० जिपीए ल्याउने आयुषा कार्की र प्रवेश परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै, कक्षा १२ का विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने प्रस्तुति दिँदै नवआगन्तुकहरूको स्वागत गरेका थिए ।
कलेज प्रशासनले नवप्रवेशीहरूलाई शैक्षिक गुणस्तर, व्यवहारिक ज्ञान, अनुशासन र सामाजिक उत्तरदायित्वको सन्तुलनमा भविष्य निर्माण गर्न प्रोत्साहित गर्ने प्रतिबद्धता जनाएको छ ।
