विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य घटाइएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएपछि समायोजन गरिएको निगमले जानकारी दिएको छ । समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । तर, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ ।
त्यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलो लिटर २१ अमेरिकी डलरले मूल्य बढाइएको छ । पोखरा र भैरहवा विमानस्थलमा भने ‘ब्रेक डाउन पोइन्ट’ आधारमा मूल्य निर्धारण गरिएको छ ।
एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखिएको छ । समायोजित मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन् ।
