विराटनगर । देशभर मनसुनी प्रभाव थप सक्रिय भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म लगातार वर्षाको सम्भावना औंल्याएको छ । महाशाखाका अनुसार अस्तिदेखि विभिन्न स्थानमा वर्षा बढ्दै गएको छ भने हिजो र आज धेरै ठाउँमा ठूलो वर्षा मापन भएको छ ।
लगातार पानी परिरहेका कारण बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी, रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, र सोलुखुम्बुको सोलु खोलामा पानीको सतह सतर्कता तह नाघिसकेको छ ।
त्यस्तै, झापा, उदयपुर (गाइघाट, मुरखुचीबजार, चुरेमाई), सिराहा (लहान, सिराहा हाईड्रो केन्द्रहरू) लगायत स्थानमा भारी वर्षा मापन गरिएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा वर्षा जारी छ भने बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका कतिपय स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले नदी किनार, होचा भूभाग र पहाडी क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
महाशाखाले जनतालाई जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, स्थानीय प्रशासनको सूचनालाई पालना गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
