विराटनगर, साउन १९ । लामो समयसम्मको खडेरीपछि तराई/मधेशमा वर्षा सुरु भएपछि किसानहरू धान रोपाइँमा ब्यस्त भएका छन् । रोपाइँको मुख्य सिजन सकिनै लाग्दा आएको पानीले ढिलो भए पनि खेतमा हरियाली फर्किएको छ ।
यसअघि वर्षा नहुँदा खेत बाँझै रहेको थियो । तर, शनिबारदेखि परेको पानीले किसानलाई केही राहत दिएको छ । अबको केही दिन रोपाइँमा तीव्रता आउने अनुमान छ ।
धानबालीका विज्ञ डा. उज्जवलकुमार सिंह कुशवाहाका अनुसार समयमै उत्पादन लिन अहिले छिटो पाक्ने धान जातहरू रोज्न उपयुक्त हुन्छ । उनले हर्दिनाथ–१, ३, ५, चैते–२, ५ तथा सुक्खाधान–३, ५, ६ र बासमती समूहमा शुद्धोधन, कालानमक र लल्का बासमती जस्ता जातहरू लगाउन सुझाव दिएका छन् ।
मधेश प्रदेशमा अहिले करिब ५८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । देशभर भने हिजोसम्म ८४ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ । यस वर्ष कुल १३ लाख ७८ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ, जसमध्ये ११ लाख ५६ हजार हेक्टरमा काम सकिएको जनाइएको छ ।
अबको केही हप्ता किसानका लागि समय र स्रोतको चुनौतीसँग जुध्दै उत्पादन सुनिश्चित गर्ने अवसर हुनेछ ।
