विराटनगर, २० साउन । विराटनगरस्थित कान्तिपुर कलेजमा अध्ययनरत राजनारायण महतोले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को कक्षा १२ को परीक्षामा देशभर उच्चतम अंकसहित टप गरेका छन् । विज्ञान संकायका विद्यार्थी महतोले ३.९६ ग्रेड प्वाइन्ट औसत (GPA) प्राप्त गरेका हुन् ।
कलेजका प्राचार्य भुवन नेपालका अनुसार यस वर्षको परीक्षामा कसैले पनि ४.०० GPA प्राप्त नगरेको अवस्थामा महतोको ३.९६ अंक सबैभन्दा उत्कृष्ट हो । उनका अनुसार बोर्डले सार्वजनिक गरेको नतिजामा अहिलेसम्म ३.९६ भन्दा माथिको GPA कसैको देखिएको छैन ।
प्राप्त नतिजाअनुसार कान्तिपुर कलेजबाट परीक्षामा सहभागी विद्यार्थीहरू मध्ये :
-
३.६१–४.०० GPA ल्याउने: ३७ जना
-
३.२१–३.६० GPA ल्याउने: ३५८ जना
-
२.८१–३.२० GPA ल्याउने: १८७ जना
-
२.४१–२.८० GPA ल्याउने: १५३ जना
-
२.०१–२.४० GPA ल्याउने: ७४ जना
यो सँगै ९४ प्रतिशत विद्यार्थीले उल्लेखनीय उपलब्धि हासिल गरेको कलेजले जनाएको छ ।
कलेजका प्राचार्य नेपालले विद्यार्थी, शिक्षक र व्यवस्थापनको निरन्तर प्रयासले यो सफलताको बाटो खुलेको बताएका छन् । उनका अनुसार विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइका रूपमा कान्तिपुर कलेज स्थापित हुँदै गएको छ ।
कलेजमा हाल कक्षा ११ र १२ तहमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यसअघि पनि AIEE परीक्षामा सोही कलेजकी आयुषा कार्कीले ४.०० GPA ल्याएर राष्ट्रिय स्तरमा चर्चा बटुलेकी थिइन् ।
