विराटनगर, २० साउन । कोशी प्रदेशका तीन जिल्लामा सक्रिय ट्रान्सफर्मर चोर गिरोहलाई प्रहरीले पक्रिएको छ । झापा, मोरङ र सुनसरीमा विद्युत ट्रान्सफर्मर चोरी गर्दै हिँडेको ७ जनाको गिरोहलाई प्रदेश प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
गत माघ १५ यता मोरङमा ८, सुनसरीमा १२ र झापामा २ गरी कुल २२ वटा ट्रान्सफर्मर चोरी भएका थिए । प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत चोरीमा संलग्न समूह र उनीहरूले प्रयोग गरेका सामान तथा खरिदकर्ताको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

पक्राउ परेका चोर समूहका सदस्यहरू यस्ता छन् :
-
अर्जुनकुमार माझी (४२), ग्रामथान–४, मोरङ
-
इरज धामी (३१), ग्रामथान–५, मोरङ
-
अनुज विश्वास (३५), दुहबी–३, सुनसरी
-
प्रयाग कुमार खाँ चौधरी (३९), दुहबी–२, सुनसरी
-
अर्जुन चौधरी (२६), बेलबारी–४, मोरङ
-
रञ्जित तामाङ (२७), बेलबारी–३, मोरङ
-
आलम मिया (३४), भारत घर, हाल दुहबी–४ ससुराली
चोरीको सामान किन्ने ६ जना पनि पक्राउ
विद्युत ट्रान्सफर्मरबाट निकालिएको तामाको तार किन्नेहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये :
-
लक्ष्य प्रधान (५३), विराटनगर–३
-
कृष्णगोपाल ताम्राकार (६२), विराटनगर–६
-
योगेश अग्रवाल (३२), दुहबी–३
-
कपिल भट्ट (३१), दुहबी–२
-
सीताराम राई (३९), इटहरी–४
२ करोड बराबरको ट्रान्सफर्मर चोरी
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, पक्राउ परेका समूहले हालसम्म २ करोड रुपैयाँ बराबरका ट्रान्सफर्मर चोरी गरिसकेको पुष्टि भएको छ । चोरिएका ट्रान्सफर्मरका तामाका तार बिक्री गरेर गिरोहले ठूलो आर्थिक लाभ उठाउँदै आएको अनुसन्धानले देखाएको छ ।
चोरीमा प्रयोग भएका सामग्री र सवारीसाधन बरामद
प्रहरीले चोरीमा प्रयोग गरिएका यन्त्रहरू समेत बरामद गरेको छ । बरामद सामग्रीमा २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ थान पिलास, ३ थान पेचकस, छिनो, साङली, कैची, र ३ थान ह्याक्सो ब्लेड रहेका छन् । साथमा प्रयोगमा ल्याइएको १ थान पिकअप गाडी र ५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिजुली चोरी मात्र होइन, ट्रान्सफर्मर नै उडाउने यस्तो संगठित अपराधबिरुद्ध प्रहरीले चालेको कदम सराहनीय छ। अनुसन्धान अझै अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।
