विराटनगर । नेकपा (एमाले) बर्जू गाउँ कमिटीको आयोजनामा बर्जू गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता तथा जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम बर्जू–३ राम जानकी सामुदायिक भवनमा मंगलबार सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता गाउँ कमिटी अध्यक्ष भिम भट्टराईले गर्नुभयो भने प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा सुनसरी–३ इन्चार्ज माननीय भगवती चौधरी रहनुभयो।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्यद्वय रामदेव यादव र रोहित बी. कार्की रहेका थिए। त्यस्तै, प्रदेश कमिटी सदस्य प्रदिप चौधरी, आबिद हुसेन, माया पोख्रेल, क्षेत्रीय समन्वय समिति संयोजक ओमप्रकाश मेहता, सचिव मिलिराम चौधरी, संयोजक शिवनारायण चौधरी, सचिव केशव रिमाल, गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरी, उपाध्यक्ष अनिता चौधरी, बर्जू गाउँपालिका अध्यक्ष जीवछ राय, उपाध्यक्ष नीतु चौधरीलगायतको उल्लेखनीय उपस्थिति थियो।
अन्तरक्रिया कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय नीतिगत गतिविधि र पार्टीको आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगवती चौधरीले पार्टी संगठनलाई अझ मजबुत बनाउन तल्लो तहसम्म कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “एमालेले जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर क्रियाशील रहनुपर्छ। गाउँ–गाउँमा संगठनलाई सबल बनाएर मात्र जनताका वास्तविक आवश्यकता र आकांक्षालाई पूरा गर्न सकिन्छ।”
त्यसैगरी चौधरीले स्थानीय सरकार र जनप्रतिनिधिहरूलाई जनताको भरोसा कायम राख्दै विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
