विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले स्थापनाको २५ वर्ष पूरा गर्ने अवसरमा आउँदो भदौ ८ गते रजत जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थापक डा. बिरेन्द्रकुमार बिष्टले बेलायतबाट चिकित्सा शिक्षा अध्ययनपछि २०५७ साल भदौ ८ गते १५ जना स्वास्थ्यकर्मीको सहयोगमा १० शय्याको अस्पताल सुरु गरेका थिए। तत्कालीन बेलायती राजदूत रोनाल्ड पिन नासले उद्घाटन गरेको सो अस्पताल अहिले १५० शय्यामा विस्तार भई अत्याधुनिक उपकरणसहित गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको छ। अस्पताललाई निकट भविष्यमै २५० शय्या क्षमतामा स्तरोन्नति गर्ने तयारी भइरहेको अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए।
उनका अनुसार रजत जयन्ती अवसरमा सप्ताहव्यापी सामाजिक तथा स्वास्थ्य कार्यक्रम सञ्चालन हुनेछ। यसअन्तर्गत राधाकृष्ण रथयात्रामा श्रद्धालु भक्तजनका लागि हेल्थ डेस्क, मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि तथा फलफूल वितरण, बृहत रक्तदानमार्फत २५६ पिण्ट रगत संकलन र भदौ ८ देखि १४ गतेसम्म २५ प्रकारका स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, तुलसादेवी फाउण्डेशनको स्थापना गरी उत्कृष्ट नर्स र मेडिकल अफिसरलाई प्रत्येक वर्ष ५१–५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ब्लड बैंक स्थापना, सरसफाइ, वृक्षारोपण, सिसि क्यामेरा तथा बत्ती जडान, साथै कोशी र मधेस प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनासमेत अघि सारेको छ। भट्टराईका अनुसार आगामी पाँच वर्षभित्र दमक र लहानमा ५०–५० शय्याका सुपरस्पेशियालिटी अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित चेन अफ हस्पिटल विस्तारको तयारी भइरहेको छ।
स्वास्थ्य विज्ञहरूले विराटनगरलाई स्वास्थ्य हबको रूपमा स्थापित गर्न अस्पतालको योगदान उल्लेखनीय रहेको बताएका छन्। २५ वर्षको यात्रामा यस अस्पतालले २५ लाख बिरामीलाई स्वास्थ्य सेवा, ७ हजार ५ सयभन्दा बढी न्युरो सर्जरी, ५ हजारभन्दा बढी मुटु सम्बन्धी प्रोसिड्युर र ६ हजारभन्दा बढी हाडजोर्नी शल्यक्रिया सम्पन्न गरेको तथ्यांक सार्वजनिक गरिएको छ।
