विराटनगर । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै दुई दशकभन्दा लामो यात्रा तय गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले शनिबार भव्य र गरिमामय समारोहसहित रजत महोत्सव सम्पन्न गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थाले व्यापारिक दायित्वसँगै सेवा प्रवाहलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले विशेष गरी गरिब तथा असहाय वर्गलाई गुणस्तरीय उपचारमा पहुँच दिलाउनु अस्पतालहरूको पहिलो कर्तव्य भएको उल्लेख गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारे ।
त्यस्तै, कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टले सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुविधा दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रका अस्पतालहरूले जनताको आवश्यकता पूरा गर्ने दिशामा अझ सक्रिय हुनुपर्ने औंल्याए ।
कार्यक्रममा सहभागी गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले अस्पताल र चिकित्सकलाई समाजले ‘आमापछि देवी–देवताको स्वरूपमा’ सम्मान गर्ने गरेको उल्लेख गर्दै सबैको पीडा कम गर्न अस्पतालहरूको भूमिका अझ प्रभावकारी र संवेदनशील बन्नुपर्नेमा जोड दिइन् ।
अस्पताल अध्यक्ष डा. वीरेन्द्रकुमार बिष्टको अध्यक्षतामा सम्पन्न सो समारोहमा उत्कृष्ट कार्य गर्ने चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो । साथै, स्थापना कालदेखि निरन्तर सेवा दिँदै आएकालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै, अस्पतालकी निर्देशक डा. अनिशा बिष्टले आगामी दिनमा समुदायमुखी कार्यक्रम, गुणस्तरीय उपचार विस्तार, प्रविधिमैत्री सेवा र दक्ष जनशक्ति अभिवृद्धिलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

