विराटनगर । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा आज साँझ घर घरमा चौरचन पर्व मनाईदैछ ।
तीज र चौरचन पर्व आज एकैदिन परेको छ । मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो ।
तीज पर्व मनाउने महिला सोमबार राति खाएपछि आज निराहार व्रतमा छन् । त्यसैगरी चौथी तिथिको चन्द्रोदय पनि आजै साँझ परेपछि मिथिलामा चौरचन पर्व आजै रहेको विराटनगरका प्रेम नारायण झाले बताउनुभयो । “चौरचन पर्वमा चौथीकै चन्द्र दर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तीज व्रत र चौरचन एकैदिन परेका हुन्”, उहाँले भन्नुभयो ।

चौरचन पर्वमा आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै वर्तालुले पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ ।
यहाँको परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन छ । यो व्रत पुरुष महिला दुवैले गर्नसक्ने व्रत विधान छ । तर मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन् । मिथिलामा चौरचन मुख्य पर्वमध्ये मानिन्छ ।
भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने, चन्द्रमाको कृपाले जीवनमा सुखशान्ति प्राप्त हुने जनविश्वास छ । अघि द्वापरयुगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत् महापुराण र कृष्णलीला माहात्म्यमा वर्णित छ । त्यसै बेलादेखि चौरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ ।
