विराटनगर । भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ । व्रतालु महिलाहरूले शिव–पार्वतीको विशेष पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति र कल्याणको कामना गर्ने परम्परा रहेको छ ।
पौराणिक कथाअनुसार सत्ययुगमा यिनै दिन पार्वतीले कठोर निराहार व्रत बसेर भगवान शिवलाई पति रूपमा प्राप्त गरेकी थिइन् । त्यसैले यस दिन व्रत बसेर विधिपूर्वक पूजा–आराधना गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यही विश्वासका साथ आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।
धर्मशास्त्रका जानकारहरूका अनुसार तीजको व्रत तीन किसिमको हुन्छ—निराहार, जलाहार र फलाहार। शारीरिक क्षमता अनुसार व्रत बस्न सकिने बताइन्छ । निराहार बस्न नसक्नेहरूले जलाहार वा फलाहार गरी व्रत गर्न सक्ने व्यवस्था छ । स्वास्थ्य अवस्था राम्रो नभएका महिलाले फलफूल वा हल्का आहार ग्रहण गरेर पनि व्रत बस्न सक्ने उल्लेख गरिएको छ ।
अटल सौभाग्य प्राप्तिका लागि विवाहित महिलाले, सन्तान सुखका लागि दम्पतीहरूले र असल जीवनसाथी प्राप्तिको चाहनामा अविवाहित युवायुवतीले पनि तीजको व्रत बस्ने धार्मिक परम्परा छ । समग्रमा यो व्रत परिवारको सुख–समृद्धि, स्वास्थ्य र मनोकामना पूर्तिको प्रतीक मानिन्छ ।
