२१ जेठ २०८३, बिहिबार

विराट मेडिकल कलेजमा २ सय बेडको स्त्री तथा प्रसूति भवन उद्घाटन

Logo
डुमरलाल मेहता मंगलबार, भाद्र १०, २०८२

विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले ऐतिहासिक उपलब्धि जोडेको छ । मोरङको बुढीगंगा–२ मा रहेको कलेजले स्त्री तथा प्रसूति उपचारका लागि समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले भवन उद्घाटन गर्दै यसलाई महिला स्वास्थ्य सेवामा “नयाँ युगको सुरुवात” भने । उनका अनुसार, विराट मेडिकल कलेजले उपचारसँगै चिकित्सा शिक्षामा पनि देशकै उदाहरणीय स्तर कायम राखेको छ ।

नवनिर्मित भवनमा ५ वटा आधुनिक अप्रेशन थिएटर, २ सय बेडको वार्ड, ३० बेड क्षमताका डिलक्स क्याबिन तथा छुट्टै गाइनो आइसीयू सुविधा उपलब्ध गराइएको छ । यससँगै अस्पतालमा सञ्चालनमा रहेका अप्रेशन थिएटरको संख्या २४ पुगेको छ ।

अस्पतालका अध्यक्ष तथा प्रा.डा. ज्ञानेन्द्र मानसिंह कार्कीले महिला स्वास्थ्य उपचारलाई अझ सुरक्षित र व्यवस्थित बनाउन यो भवनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले थपे, “संवेदनशील सेवालाई समर्पित यस केन्द्रले महिलाहरूलाई उच्चस्तरीय उपचारमा सहज पहुँच दिलाउनेछ ।”

हाल २० भन्दा बढी विशेषज्ञ स्त्री तथा प्रसूति चिकित्सकले २४ सै घण्टा सेवा दिइरहेका अस्पतालमा इमरजेन्सी विभागसमेत १०० बेड क्षमतामा सञ्चालनमा छ । यसले कोशी प्रदेशसहित आसपासका जिल्लाका बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रा.डा. वाग्लेले विद्यार्थी, चिकित्सक तथा नर्सहरूसँग अन्तरक्रिया गर्दै स्वास्थ्य क्षेत्रमा अवसर र चुनौतीबारे विचार साझा गरे । यस क्रममा अध्यक्ष कार्कीले सरकारले लामो समयपछि एमबीबीएस कोटा वृद्धि गरेको निर्णयलाई “१० वर्षपछिको आइस ब्रेक” भन्दै स्वागत गरे । उनका अनुसार, यसले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा टेवा पुर्‍याउनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300