विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव तीव्र गतिमा बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार बेलुकी १० बजे कोसी ब्यारेजमा मापन गरिएको जलसतह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।
यसअघि आइतबार दिउँसो २ बजे मापन गर्दा पानीको बहाव एक लाख ७४ हजार ३७५ क्युसेक थियो र त्यतिबेला २३ ढोका खोलिएको थियो । अहिले भने ५६ मध्ये ३१ ढोका खोलिएका छन् ।
कोसी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार अहिले रातो बत्ती प्रज्वलित गरिएको छ ।
उच्च पहाडी क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण सप्तकोसीमा पानी थप बढ्ने सम्भावना रहेको जनाइएको छ ।
